काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार नेप्से परिसूचसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यससँगै नेप्से २ प्रतिशत बढेर २ हजार ६६५ दशमलव ४५ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन रू. ६ अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आज बढेर रू. ९ अर्ब २० करोड बराबरको कारोबार भएको हो ।
लामो समयदेखि बजार 'साइडवेज' र 'करेक्सन'मा रहेको थियो । यस अवधिमा धेरैजसो कम्पनीको शेयर मूल्य न्यून विन्दुमा झरेको थियो । जसकारण पनि खरीदकर्ताहरू आकर्षित भएको देखियो । यसो त ब्याजदर तल्लो विन्दुमा झरेको छ । जसका कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ९६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ८२ प्रतिशत वृद्धि भएको छ ।
आज ३२२ धितोपत्रको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर ९० हजार ६९६ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७५७ दशमलव ८० र दोल्ती पावरको रू. ९२५ दशमलव १० पुगेको छ ।
बुधवार बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव २१ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४० मा झरेको छ । दोस्रोमा बोओके डिबेञ्चर २०८६ केए नामक ऋणपत्रको मूल्य ६ दशलमव ९४ प्रतिशत घटेर रू. १ हजार ११५ दशमलव ३० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ६१ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २०७ दशमलव ८० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल पुर्नबीमा कम्पनीको रू. ४१ करोड २२ लाख बराबरको भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचक सबै बढेका छन् । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी ४ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै लगानी समूहको सूचक ३ दशमलव ८२ प्रतिशत र विकास बैंक समूहको सूचक २ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।