काठमाडौं । चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको समाचारहरू सञ्चारमाध्यममा आए पनि यसको आधिकारितामा प्रश्न उठेको छ ।
मन्त्रिपरिषद् बैठकमा सामेल मन्त्रीहरूलाई उद्धृत गरी लुइँटेल सीईओ नियुक्त भएको समाचार सञ्चारमाध्यमहरूमा आएको थियो । सामाजिक सञ्जालमा बधाई खाँदै आएका लुइँटेलले अर्थ मन्त्रालयबाट आधिकारिक पत्र हालसम्म नपाएको बताएका छन् ।
मन्त्रिपरिषद्ले गरेको भनिएको निर्णयपछि अर्थ मन्त्रालय पुग्दा त्यहाँका उच्च पदस्थ अधिकारीहरूले बधाई र शुभकामना दिएको तर आफूले आधिकारिक पत्र नपाएको लुइँटेलले बताए । ‘म अर्थ मन्त्रालयसँगको सम्पर्कमा रहँदै आएको छु तर मलाई नियुक्तिको आधिकारिक पत्र दिइएको छैन,’ लुइँटेलले भने । सूचनाप्रविधि तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयको विवरणमा कहीँ कतै उनलाई नेप्से सीईओ नियुक्त गर्ने निर्णय भएको खुलाइएको छैन ।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्यामप्रसाद भण्डारीले नेप्सेको सीईओ नियुक्तिको निर्णय प्रमाणित भएर मन्त्रालयमा नआएको बताए । मन्त्रिपरिषद् बैठकले निर्णय गरेको विषय प्रमाणित भएर आएमात्र कार्यान्वयनमा लैजान सकिने प्रवक्ता भण्डारीको भनाइ छ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले नै नेप्से सीईओ नियुक्तिको विषयमा सोमवारको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेको हालै एउटा कार्यक्रममा बताएका थिए ।
माघ २५ गतेदेखि नेप्सेमा सीईओ पद रिक्त छ । नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेकोमा लुइँटेलसहित पाँच जना संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेका थिए ।
उक्त सूचीमा लुइँटेल दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा चूडामणि चापागार्इं, तेस्रो नम्बरमा पूर्णप्रसाद आचार्य, चौथो नम्बरमा बद्रीप्रसाद प्याकुरेल र पाँचौं नम्बरमा हेमन्त बस्याल रहेका थिए ।
संक्षिप्त सूचीमा परेमध्येका एक आवेदकले पाँच जनामध्येबाट तीन जनाको नाम छनोट गरेपछि मन्त्रिपरिषद्मा सिफारिश हुने र तीमध्येबाट एक जना नियुक्त हुनुपर्नेमा सरकारले मनोमानी रूपमा काम गरेको बताए । सरकारले निर्णय नगरेको भए यथाशीघ्र तीन जनाको नाम सार्वजनिक गरी तीमध्येबाट योग्य एक जनालाई नियुक्त गर्नसमेत ती आवेदकले आग्रह गरेका छन् ।
नेप्सेको सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचनाप्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्ने व्यवस्था छ । पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्ति नेप्सेको सीईओ बन्न सक्ने व्यवस्था कार्यविधिमा भए पनि लुइँटेलसँग त्यसबमोजिम कार्यअनुभव नभएको चर्चा उनको नियुक्तिको समाचार बाहिरिएसँगै चलेको थियो ।