काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँ समक्ष धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले टीएमएस मोबाइल एप सञ्चालनको माग गरेका छन् ।
शुक्रवार नवनियुक्त नेप्सेका सीईओ चापागाईँसँग भेटमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधिहरूले टीएमएसको मोबाइल एप नहुँदा आम लगानीकर्ताले समस्या भोग्दै आएको गुनासो गर्दै तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका हुन । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले टीएमएसको मोबाइल एप सञ्चालन गरी आम लगानीकर्तालाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउन चापागाईँ समक्ष आग्रह गरेका हुन ।
करिब ६७ लाख लगानीकर्ता जोडिसकेको पूँजीबजारमा टीएमएसको मोबाइल एप सञ्चालनसँगै बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास ढकालले व्यक्त गरेका छन् ब्रोकरहरूको आग्रहलाई मनन गर्दै नवनियुक्त सीईओ चापागाईँले पूँजीबजारको आवश्यकतालाई बुझेर काम गर्ने बताएका छन् । निजी क्षेत्रको अनुभव रहेका नेप्सेका सीईओ चापागाईँले आफ्नो कार्यकालभर नयाँ सुधारका काम हुने बताए । उनले नेप्सेको सीईओको जिम्मेवारी सम्हालेसँगै दैनिक पूँजीबजारका गतिविधिका बारेमा जानकारी लिइरहेको र बजारको आवश्यकतालाई ध्यान दिइरहेको उल्लेख गरे ।
नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना दिनका लागि स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सहित उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाल लगायतको टीम नेप्से पुगेको थियो । ९२ ब्रोकर कम्पनीहरू एक भएर बनेको स्टक ब्रोकर एसोसिएसनले नवनियुक्त नेप्सेका सीईओ चापागाईँले बजारका सबै सरोकारवाला निकायसँगै आम लगानीकर्ताको हितलाई ध्यानमा राखेर आगामी दिनमा काम गर्ने विश्वास लिएको छ ।