असार १३, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ७ दशमलव ६२ अङ्कले बढेको छ । ‘वीमा कम्पनीहरुको पूँजी बढाउने खबर आएपछि ती कम्पनीहरुले बोनस र हकप्रद शेयर दिने सम्भावना बढ्ने देखिएकाले वीमा कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको हो,’ स्वेता सेक्यूरिटिजकी सुचिता खनालले बताइन् । वीमा समूहको परिसूचक ३ दशलमव ३३ प्रतिशतले बढेपछि नेप्से परिसूचकलाइ टेवा पुगेको हो ।
बीमा कम्पनीहरुको पूँजीको आधार बलियो बनाउन आवश्यक रहेको तथ्य भूकम्पपछि अझ बढि महत्वपूर्ण बनेकोले सम्भवत कम्पनीहरुको चुक्तापूँजी वृद्धि हुने अपेक्षामा लगानीकर्ताहरु देखिएका छन् । चुक्तापूँजी वृद्धिको लागि भने बोनस शेयर, हकप्रद शेयर, फर्दर पब्लिक अफरिङ बाहेक कम्पनीहरु मर्जरमा जाने सम्भावना पनि धेरै छ । यो समूहका एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य रू.६४, लाइफ इन्योरेन्सको रू.१ सय ८३ र नेशनल लाइफको रू.१ सय २० ले बढेपछि यो समूहको परिसूचक पनि बढेको हो । नेपाल लाइफ इन्स्योरेन्सको भने रू.३ करोड ८८ लाख बराबरको शेयर किनबेच भयो ।
त्यस्तै, भूकम्प पीडित ऋणीहरुको कर्जा चालु आवको अन्त्यसम्ममा उठाउन नसकेर असोज मसान्तसम्ममा उठेमा पनि बैङ्कहरुले त्यसलाइ चालू आवकै हिसाबमा असल कर्जाको वर्गीकरणमा समावेश गर्न पाउने भएपछि यसको प्रभाव यो समूहको शेयरमा परेको हो । यो व्यवस्थाले बैङ्कहरुलाई यस्तो कर्जा असल कर्जा अन्तरगत नै राख्न सकिने छुट दिएको छ । यसले बैङ्कहरुको नाफामा त्यती असर नपर्ने प्रक्षेपणको आधारमा यो समूहमा लगानी बढेको छ । असारको मध्यान्तर चलिरहेको र बजेट घोषणा नजिकिँदै गएकोले पनि बजारलाई टेवा मिलेको हो ।
बैङ्किङ समूहको परिसूचक यस दिन शून्य दशलमव ४८ प्रतिशतले बढेको छ । सिभिल बैङ्क, ग्लोबल आइएमइ, जनता, कुमारी, एनसीसी, एनआइसी एशिया र प्रभू बैङ्क बाहेक सबै वाणिज्य बैङ्कहरुको शेयरमूल्य बढेपछि उक्त समूहको परिसुचक पनि बढेको हो ।
यस दिन नेप्से परिसूचक शून्य दशलमव ८२ प्रतिशतले बढेर ९ सय ३८ विन्दुमा पुगेर बजार बन्द भएको हो । नेप्सेमा १ हजार ९ सय ५७ व्यापारबाट १ सय २८ कम्पनीको १० लाख २५ हजार ३ सय १ कित्ता शेयर किनबेच भयो । यसबाट रू.३८ करोड ९१ लाख रकम परिचालन भयो । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ४६ दशमलव २७ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरिद र विक्री चाप सामान्य रहेको देखाउँछ । यो दिन कारोबारमा आएका १ सय २८ कम्पनीहरु मध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ, ४८ कम्पनीको घट्यो र २७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यो दिन एडी रेशियो १ दशमलव ३१ रहेको छ ।
‘अन्य’ समूहको परिसूचक १ दशलमव १४ प्रतिशतले बढेको छ । कारोबारमा आएको नेपाल दुरसञ्चार कम्पनीको ३० पटकको व्यापारमा ८ हजार ६ सय ४० कित्ता शेयर किनबेच भएर शेयरमूल्य रू.७ ले बढेपछि यो समूहको परिसूचक पनि बढेको हो ।
त्यसैगरी, ओरियण्टल होटेलको शेयरमूल्य घटेपनि सोल्टी होटेलको शेयरमूल्य रू.२ ले बढेपछि होटेल समूहको परिसूचक शून्य दशलमव ३२ प्रतिशतले बढेको हो । जलविद्युत समूहको परिसूचकशून्य दशलमव २५ र विकास बैङ्क र वित्त कम्पनीको शून्य दशलमव शून्य ३ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह भने स्थिर नै रह्यो । यस दिन सबैभन्दा धेरैले मूल्य घट्नेमा भने इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स रह्यो । यसको शेयर मूल्य ५ दशमलव ७६ प्रतिशतले घटेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.