काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज २६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित भएको कर समेत १५ प्रतिशत नगद लाभांश असोज २९ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट यो लाभांश वितरण गरेको हो । कम्पनीले २०७९ साल असार मसान्तसम्म कायम चुक्तापूँजी २५ करोड ५० लाख रूपैयाँको आधारमा ३ करोड ८२ लाख ५० हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । नगद लाभांश सम्बन्धीत शेयरधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले बैंक खाता अद्यावधि गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।
लाभांश प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरू मात्र नगद लाभांश प्राप्त गरेका छन् । असोज १७ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखेका सदस्यहरूको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।