काठमाडौं । हाल नेपालमा बैंक तथा बीमा कम्पनीबीच बैंकास्योरेन्स हुने क्रम बढेको छ । यो सेवा करीब १ दशकदेखि शुरू भए पनि कम्पनीहरूले अहिले प्रतिस्पर्धी रूपमा प्रवाह गर्न थालेका हुन् । नेपालमा बैंकास्योरेन्स बारे कुनै नीतिगत व्यवस्था भने बनेको छैन ।
बीमाविज्ञ भोजराज शर्माका अनुसार अबको नयाँ ऐनमा बैंकास्योरेन्सको छुट्टै निर्देशिका बन्नुका साथै नेपालमा पूर्णरूपमा बैंकास्योरेन्स प्रणाली लागू हुनेछ । ‘हाल नेपालमा बैंकास्योरेन्सको नाममा बैंकहरूले संस्थागत अभिकर्ताको रूपमा मात्र कार्य गरिरहेका छन्,’ उनले भने, ‘बीमा कम्पनी नपुगेको ठाउँमा बैंक पुग्छ । बैंकले बीमा र त्यसका योजनाबारे जानकारी गराउँदा बैंक र बीमा कम्पनी दुवैलाई फाइदा पुगिरहेको छ ।’
बैंकास्योरेन्स शब्द बैंक र इन्स्योरेन्स मिलेर बनेको हो । यो कार्यप्रणाली फ्रान्सबाट शुरू भएको हो । बैंक र बीमा कम्पनीबीच हुने सम्झौतालाई बैंकास्योरेन्स भनिन्छ, जसमा बैंकले आफ्ना ग्राहकलाई बीमा कम्पनीको योजना विक्री गर्ने सम्झौता गरेको हुन्छ । बैंक र बीमा कम्पनी मिलेर योजना बनाउनुका साथै बीमा सम्बन्धी अन्य कार्य मिलेर गर्छन् ।
हाल नेपालका अधिकांश वाणिज्य बैंकहरूले आफ्ना ग्राहकलाई बैंकास्योरेन्सको सेवा दिन थालिसकेका छन् । बैंकले जोखिम लिन नमिले पनि बीमाले भने जोखिम लिने अनुमति पाएको हुन्छ । यसैगरी हरेक कम्पनीको नीति नियम अनुसार ग्राहकलाई दिने सुविधामा फरक पर्छ । साथै, बैंकले बीमाको वितरण माध्यमको रूपमा कार्य गरे पनि बैंकास्योरेन्सले बैंकहरूलाई अन्य आम्दानी आर्जन गर्न सहयोग गर्छ ।
विभिन्न बैंकले आफ्नो फाइदाका लागि सामान्य बचत खातामा पनि न्यूनतम ब्यालेन्स तोकेर सोही अनुसारको बीमा गरिदिने योजना ल्याउन थालेका छन् । केही बैंकले भने ग्राहकले घर कर्जा, गाडी कर्जा लिने बेला सम्बन्धित बैंकबाटै यस्ता कर्जाको बीमा सेवा प्रदान गर्न थालेका छन् । यसले ग्राहकलाई बीमा कम्पनी खोज्न तथा धाउनुपर्ने समस्या हटेको छ । बीमा समितिले बैंकास्योरेन्सको नीति नियम ल्याइसकेपछि यसले बैंक, बीमा र ग्राहकलाई निकै फाइदा पुग्ने देखिन्छ ।
बैंकलाई हुने फाइदा
- अन्य आम्दानी आर्जन गर्न सहयोग
- ग्राहक तथा निक्षेपमा वृद्धि
- भइरहेको पूर्वाधारको उचित प्रयोग
- बैंकसँगको सहकार्यमा नयाँ वित्तीय प्रणाली विकास गर्न सकिने
- एजेन्ट तथा दलालको भर पर्नु नपर्ने
- बीमांकमा वृद्धि
- बैंकको सहयोगमा विकट ठाउँमा पनि आफ्नो योजना विक्री गर्न सकिने
- बैंकबाटै बीमाको सेवा लिन पाउने
- दाबी गर्न सजिलो
- प्रिमियम तिर्न कम्पनी धाउनु नपर्ने
- बैंकमा खातामा भएका ग्राहकको खाताबाटै रकम तिर्न मिल्ने