‘भोलि कसैलाई थाहा हुँदैन’ भन्ने भनाइ सांग्रिला होटेलका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको जीवनसँग मेल खान्छ । १२ अक्टोबर १९३६ मा काठमाडौंको लाजिम्पाटमा जन्मिएका पाण्डेको पारिवारिक पृष्ठभूमि व्यापार–व्यवसाय थिएन, जसले गर्दा उनले शुरूमा निजामती सेवालाई आफ्नो कर्म बनाए । साधारण जीवन व्यतीत गर्दै आएका उनले अवकाशपछि भने फरक धार समाते । त्यो थियो, निर्यात व्यवसाय ।
सन् १९६० को दशकमा अवकाश पाएर उद्यममा लागेका पाण्डेले चीनतर्फ चामल र जुट निर्यात गर्न शुरू गरे । उनका अनुसार यो व्यवसाय लामो समयसम्म चलेको थियो । तर यसरी गर्ने व्यापारमा उनको मन भने बसेको थिएन । त्यसैले उनलाई थप नयाँ क्षेत्रमा लाग्न प्रेरित गरिरह्यो । यस्तै व्यावसायिक सोचले प्रभावित उनी आफूले रोज्ने व्यवसायप्रति भने जानकार थिएनन् । यद्यपि एउटा यस्तो सपना थियो, जसले उनलाई झकझकाइरह्यो ।
उनलाई सधैंजसो झकझकाउने सपनाभित्रको परिकल्पना थियो– लाजिम्पाटमा विशेष होटेल बनाउने । त्यसका लागि उनले जोखिम उठाउने अठोट गरे, अनि जन्मियो अहिलेको ‘सांग्रिला होटेल’ ।
यो होटल बन्न र स्थापित हुन त्यति सहज भने थिएन । सन् १९७० को दशकमा त्यहाँ मात्रै नभई काठमाडौं नै कृषिका लागि बढी प्रख्यात थियो । उनले आफ्नो नयाँ व्यवसाय शुरू गर्न पर्याप्त जग्गा खरीद गरी ठूलो पूँजी लगाए ।
हस्पिटालिटी क्षेत्रमा कम जानकार पाण्डेका लागि यसमा ठूलो लगानी गर्नु जोखिमकै काम थियो । तर सांस्कृतिक तथा पारिस्थितिक बाधा र परम्परागत सोचभन्दा माथि उठेर जोखिम वहन गर्ने अठोटले उनले नेपालको पर्यटन क्षेत्रमा नयाँ उचाइ थपिदिए । उनका यी सपनालाई यथार्थमा परिणत गर्न भने डेसमण्ड डोइगको पनि ठूलो योगदान छ । पाण्डेले डोइगलाई आफ्ना योजनाका अधिकांश हिस्सामा सहभागी गराए । यसले होटेलको अवधारणा, डिजाइनदेखि आगामी योजना बनाउनमा समेत उल्लेख्य टेवा पुर्यो ।
डोइगसँगको मित्रतापछि योजनामा परिणत भएको होटेलको नाम ‘सांग्रिला’ जेम्स हिल्टनको उपन्यास ‘द लस्ट होराइजन’बाट प्रेरित भएर लिइएको हो । सन् १९७० ताका होटेल निर्माणाधीन अवस्थामा थियो ।
दक्षता र ज्ञान सरकारी सेवा तथा निर्यात व्यवसायमा भएका पाण्डेले आफ्नो हस्पिटालिटी व्यवसायलाई काठमाडौंमा मात्र सीमित राखेनन् । चर्चित पर्यटकीय गन्तव्य पोखरासम्म पुर्याउन उनी सफल भए । त्यसका लागि भने उनले जेठो छोरा प्रसिद्धबहादुर पाण्डेलाई अघि सारे ।
कालु पाण्डेका सन्तति मानिने श्यामबहादुरका पिता रुद्रबहादुर पाण्डे नेपाली सेनामा आबद्ध थिए । उनले छोरा श्यामबहादुर पनि यही क्षेत्रमा आओस् भन्ने चाहन्थे । तर, उनले सरकारी जागीरबाट अवकाश पाएपछि उद्यम व्यवसाय रोजे ।
अवकाशपछिको जीवनलाई थप रचनात्मक बनाउन सकिन्छ भन्ने एउटा दरिलो उदाहरण हुन्– श्यामबहादुर पाण्डे । आफूमात्रै नभई समाज र देशका लागि पनि केही गर्नुपर्छ भन्ने विचारमा विश्वास राख्ने पाण्डेलाई मुलुकको पर्यटन व्यवसायमा पुर्याएको योगदानको कदर गर्दै यस वर्ष न्यू बिजनेश एज प्रालिले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।
अवकाशपछिको जीवनलाई थप रचनात्मक बनाउन सकिन्छ भन्ने एउटा दरिलो उदाहरण हुन्– श्यामबहादुर पाण्डे । मुलुकको पर्यटन व्यवसायमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यस वर्ष न्यू बिजनेश एज प्रालिले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।