हाल औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिको आयात बढेको छ । यद्यपि विनादर्ता आयात हुने औषधि कहाँ कति विक्री भयो भन्ने यकिन तथ्यांक छैन । विनादर्ता आयात हुने औषधिमा यौन उत्तेजना बढाउने दाबी गरिएका र आकस्मिक गर्भनिरोधका औषधि छन् । आयातित औषधिको विक्री विनादर्ता सञ्चालित औषधि पसलबाट हुने गरेको छ । यस्ता अवैध गतिविधि रोक्न औषधि विभागले सक्रियता देखाउनुपर्ने हो । तर, उसले दाबी गरेअनुरूप अहिलेसम्मको अनुगमन प्रभावकारी हुन सकेको छैन । अवैध औषधिको वास्तविक कारोबारीसम्म विभाग नपुग्नुले नै उसको अनुगमन फितलो भएको प्रमाणित हुन्छ । अवैध औषधिबारे छानबिन गर्ने विभागको अनुगमन दर्ता भई सञ्चालित औषधि पसलमा हुने गरेको छ । यसो हुँदा औषधि व्यवसायी हैरान भएका छन् । अहिले १४ हजार औषधि पसल विभागमा दर्ता भएका छन् । त्यसमा करीब ९ हजार औषधि पसलले दर्ता नवीकरण गरेका छन् । नवीकरण भएका ६ हजार व्यवसायी औषधि व्यवसायी संघको सदस्य छन् ।
(औषधि व्यवसायी संघका सभापति बाबुराम भट्टराईसँगको कुराकानीबाट) वर्ष ८, अंक ७२, शुक्रवार १४ मङ्सिर, २०६९