काठमाडौं । चालू आर्थिक वर्षको असोजसम्ममा जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य बढेको देखिएको छ । बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन वृद्धि भए पनि नवीकरण घट्दा समग्र व्यवसाय प्रभावित भएको हो ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को असोजसम्ममा लघुबाहेकका १४ ओटा जीवन बीमा कम्पनीले नयाँ बीमालेख विक्री तथा नवीकरणबाट ४१ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन शून्य दशमलव ६८ प्रतिशतले मात्र वृद्धि भएको छ ।
चालू आवको असोजसम्ममा कम्पनीहरूले ८ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा नवीकरणबाट ३२ अर्ब ९२ करोड रुपैयाँ उठाएका छन् । गत आवको यसै अवधिमा ६ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा नवीकरणबाट भने ३४ अर्ब ८ करोड रुपैयाँ उठाएका थिए । गतवर्षको तुलनामा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन २१ दशमलव ४६ प्रतिशतले वृद्धि हुँदा नवीकरण शुल्क भने ३ दशमलव ४ प्रतिशतले घटेको छ ।
यसैगरी चालू आवको असोजमा मात्र कम्पनीहरूले २ अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा नवीकरणबाट ८ अर्ब ४५ करोड रुपैयाँ उठाएका छन् । गत आवको असोजमा २ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा नवीकरणबाट ९ अर्ब २८ करोड रुपैयाँ उठाएका थिए । गतवर्षको तुलनामा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन ९ दशमलव २८ प्रतिशतले वृद्धि हुँदा नवीकरण शुल्क भने ११ प्रतिशतले घटेको छ । असोजसम्ममा सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले ११ अर्ब ९ करोड रुपैयाँ उठाएको छ ।
गतवर्षको तुलनामा जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन ९ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । यसैगरी सबैभन्दा कम बीमाशुल्क संकलन सन नेपाल लाइफ इन्स्योरेन्सले ९३ करोड २७ लाख रुपैयाँ उठाएको छ ।
गतवर्षको असोजसम्मको तुलनामा राष्ट्रिय बीमा कम्पनीको ६५ दशमलव ३५ प्रतिशतले बीमाशुल्क संकलन घटेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको पनि १ दशमलव ५७ प्रतिशतले घटेको छ । प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी आर्थिक गतिविधि विस्तार हुन नसकेकाले बीमा कम्पनीको व्यवसाय वृद्धि सामान्य अवस्थामा रहेको बताउँछन् । बीमा कम्पनीहरूमा नवीकरण कम हुँदा व्यवसायको विस्तार कम देखिएको उनको भनाइ छ । २२ करोडको लघुबीमा
चालू आर्थिक वर्षको ३ महीनामा लघु जीवन बीमा कम्पनीहरूले पनि २२ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गतवर्षको असोजसम्मका यी कम्पनीको बीमाशुल्क संकलन ३० लाख ७० करोड रहेको प्राधिकरणले जानकारी दिएको छ ।