काठमाडौं । ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर घोषणा गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदूरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर घोषणा गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै क्रिकेटर ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुशी व्यक्त गरे । ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभी यो सेगमेन्टमा उत्कृष्ट र बेजोड छ । इनोभेसन र फ्युचरिस्टिक टेक्नोलोजीमा अग्र रहँदै इभी बजारमा उल्लेख्य सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म उत्साहित छु,’ ऐरीले भने ।
एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ऐरी जस्ता चर्चित युवा खेलाडीलाई ब्रान्ड एम्बासडर नियुक्त गर्न पाएकोमा खुशी लागेको बताए । ‘अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको पुरुष टिट्वान्टी अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फर्मेन्समा सदैव उच्चस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं,’ शारडाले भने ।
समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाको पनि सहभागिता रहेको थियो । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाई’ सह–प्रायोजक रहेको थियो । कार्यक्रममा एनपीएलमा उत्कृष्ट हुँदै ऐरीले पाएको ओमोडा गाडीसमेत हस्तान्तरण गरिएको थियो ।