काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हालसम्म पाँच वित्त कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत १५ वित्त कम्पनीमध्ये पाँच कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । पोखरा फाइनान्स, आईसी एफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश दिने निर्णय गरेका हुन् ।
यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी आईसी एफसी फाइनान्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।
त्यस्तै सेन्ट्रल फाइनान्स कम्पनीले यस वर्ष शेयरधनीलाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो । आईसी एफसी फाइनान्स र सेन्ट्रल फाइनान्सले लाभांश पारितका लागि पुस २९ गते साधारण सभा बोलाएका छन् ।
त्यस्तै पोखरा फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा गर्ने जानकारी गराएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले यस वर्ष शेयरधनीलाई बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएको छ । कम्पनीले यस वर्ष २ दशमलव ४ प्रतिशत बोनस शेयर र ५ दशमलव २ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा आह्वान गरेको छ ।
गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले हालसम्म लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेको छैन । यो कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मञ्जुश्री फाइनान्स कम्पनी र मल्टिपर्पस फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेका छन् । मञ्जुश्री फाइनान्स अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै मल्टिपर्पस फाइनान्स कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
अझै आठ कम्पनी भने गत आवको लाभांशबारे हालसम्म माैन छन् ।