कात्तिक ८, काठमाडौं । संयुक्त अधिराज्यको अन्तरराष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि १५ लाख पाउण्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ ।
खासगरी भूकम्पबाट भत्केका दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटोजस्ता महत्वपूर्ण पूर्वाधार पुनर्निर्माण गर्ने नेपाल सरकारको प्रयासलाई सघाउन डब्लुएफपीले उक्त अनुदानको उपयोग गर्ने डब्लुएफपीद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख गरेको छ । भूकम्पबाट अति प्रभावित क्षेत्रका ६ ओटा गोरेटो (एक सय २९ किमी) लाई पुन सञ्चालनमा ल्याउन र थप ६ ओटा (एक सय ५८ किमी)को प्राविधिक मूल्याङ्कन सम्पन्न गर्न सो सहायता प्रयोग गरिनेछ । साथै, नयाँ गोरेटोलाई मौसमी पहिरो थेग्ने र भूकम्प प्रतिरोधी हुने गरी निर्माण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो परियोजनाबाट धादिङ, गोर्खा र रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने ५५ हजार १ सय ७५ जना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वाससमेत लिइएको छ । नेपालको पदमार्ग पुनर्निर्माण कार्यमा डब्लुएफपी धेरै लामो समयदेखि संलग्न रहँदै आएको छ । गत वर्षको भूकम्पपछि करीब ८ सय ८० किमी पदमार्ग पुन सञ्चालन गरी एक लाख ३० हजार जनसङ्ख्याका लागि पहुँच उपलब्ध गराउने कार्य सम्पन्न भइसकेको छ ।
‘झन्डै १८ महीनाअघिको विनाशकारी भूकम्पमा नेपालको ग्रामीण क्षेत्रका धेरै ठाउँका गोरेटो र सडकहरु भत्किएका थिए र त्यसको प्रभाव आजसम्म पनि अनुभव गरिएको छ,’ डब्लुएफपी नेपाल प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भनेका छन् । गोरेटो बाटोको पहुँचले समुदायलाई बजारसम्म पुग्न र सामाजिक सेवा उपभोग गर्न मद्दत गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । रासस