काठमाडौं । फागुनको अन्तिम साताको कारोबारमा नेप्से परिसूचक २ दशमलव ९१ प्रतिशत घटेको छ । बजार सञ्चालकका अनुसार गत साताको अन्तिम कारोबार दिन २ हजार ८१८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ७३६ दशमलव ४८ विन्दुमा झरेको हो ।
अंकका हिसाबमा हेर्दा गत साताभन्दा यो साता नेप्से परिसूचक ८१ दशमलव ९५ अंक तल झरेको हो । यो साता एक दिन सार्वजनिक विदा परेकाले चार कारोबार दिन मात्र बजार सञ्चालन भएको थियो । पहिलो कारोबार दिन ४६ दशमलव ३३ अंक, दोस्रो दिन २० दशमलव ६८ अंक र तेस्रो दिन ३२ दशमलव २१ अंक बजार घटेको थियो ।
साताको अन्तिम कारोबार दिन भने बजार १७ दशमलव २८ अंकले बढेर बन्द भएको थियो । त्यसअघिका सात कारोबार दिन निरन्तर घटेको बजार अन्तिम कारोबार दिन भने बढेर बन्द भएको हो ।
बजारको दीर्घकालसम्मको बढ्दो गति पर्खिरहेका लगानीकर्ता त्यसप्रति विश्वस्त भने हुन नसकेको जानकारहरूको बुझाइ छ । पछिल्ला कारोबारलाई हेर्दा निरन्तर बजार बढ्ने र निरन्तर घट्ने क्रम देखिएको छ । जुन अल्पकालिन लगानीकर्ता बजारमा हाबी भएको अनुमान जानकारहरूको छ ।
यो साता बजार मापक सबै महत्त्वपूर्ण सूचकहरू घटेका छन् । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स २ दशमलव ४६ प्रतिशत तल झरेको छ । कारोबार रकम करीब ४४ प्रतिशत र कारोबार कित्ता करीब ४१ प्रतिशत घट्दा औसत कारोबार रकम करीब ३० प्रतिशत र औसत कारोबार कित्ता २६ प्रतिशतभन्दा बढी घटेको छ ।
गत साता पाँच कारोबार दिनमा ६२ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको १२ करोड ९१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता चार कारोबार दिनमा ३५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ७ करोड ६३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
त्यस्तै गत साता औसतमा १२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको २ करोड ५८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको १ करोड ९० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
बजार घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य कुल बजार पूँजीकरण १ खर्ब ३६ अर्ब ७ करोड ३३ लाख रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ७९ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४३ अर्ब ८१ करोड १८ लाख रुपैयाँ कायम भएको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,736.48 | 2,818.43 | -81.95 | -2.91 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 459.03 | 470.6 | -11.57 | -2.46 |
कारोबार रकम (रू. हजारमा) | 35,098,126.99 | 62,555,952.43 | -27,457,825.43 | -43.89 |
कारोबार कित्ता | 76,322,246.00 | 129,182,539.00 | -52,860,293.00 | -40.92 |
औसत कारोबार रकम (रू. हजारमा) | 8,774,531.75 | 12,511,190.49 | -3,736,658.74 | -29.87 |
औसत कारोबार कित्ता | 19,080,561.50 | 25,836,507.80 | -6,755,946.30 | -26.15 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,543,811.88 | 4,679,885.24 | -136,073.36 | -2.91 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
सर्वाधिक गुमाउनेमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता
यो साताको कारोबारमा अघिल्लो साताको तुलनामा सबै समूहगत परिसूचकहरू घटेका छन् । परिसूचकमा आएको कमीको आधारमा गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक घटेको देखिन्छ । यो साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३४ प्रतिशत घटेको हो ।
यो साता विकास बैंकको परिसूचक सबैभन्दा कम शून्य दशमलव ८८ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङको १ दशमलव ९७ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ३१ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ५२ प्रतिशत, अन्यको २ दशमलव ७४ प्रतिशत, जीवन बीमाको २ दशमलव ८१ प्रतिशत, लघुवित्तको ३ दशमलव ३५ प्रतिशत, जलविद्युतको ३ दशमलव ४६ प्रतिशत, व्यापारिकको ४ प्रतिशत,वित्तको ४ दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्डको ४ दशमलव १० प्रतिशत र लगानीको ४ दशमलव १२ प्रतिशत परिसूचक घटेको हो ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
विकास बैंक | 5,859.82 | 5,911.61 | -0.88 |
बैंकिङ्ग | 1,389.97 | 1,417.90 | -1.97 |
होटल तथा पर्यटन | 6,611.58 | 6,768.06 | -2.31 |
निर्जीवन बीमा | 12,771.69 | 13,101.46 | -2.52 |
अन्य | 2,446.15 | 2,515.19 | -2.74 |
जीवन बीमा | 13,838.27 | 14,238.42 | -2.81 |
लघुवित्त | 5,028.91 | 5,203.46 | -3.35 |
जलविद्युत् | 3,657.58 | 3,788.63 | -3.46 |
व्यापार | 4,103.40 | 4,274.47 | -4 |
वित्त | 2,669.00 | 2,782.59 | -4.08 |
म्युचुअल फण्ड | 19.2 | 20.02 | -4.1 |
लगानी | 109.4 | 114.1 | -4.12 |
उत्पादन तथा प्रशोधन | 7,286.63 | 7,616.93 | -4.34 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।