काठमाडौं । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छन् । सरकारले पोखरेललाई प्राधिकरणमा रिक्त रहेको महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्रीस्तरीय निर्णय अनुसार उनलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि महिला सञ्चालक पदमा नियुक्त गरिएको जानकारी स्रोतले दिएको छ ।
बीमा ऐन, २०७९ मा नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा एक जना महिना सञ्चालक हुनुपर्ने व्यवस्था छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पोखरेललाई सञ्चालकमा नियुक्त गरेसँगै उक्त ऐनले पनि पूर्णता पाएको छ ।
नेपालको धितोपत्र बजारमा एक दशकदेखि सक्रिय पोखरेल नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत रहेकी छन् । उनी विशाल बजार कम्पनीमा सञ्चालक पदमा समेत रहेकी छन् ।
धितोपत्र बजारका लगानीकर्ताको हकहितमा दशक बिताएकी पोखरेलले बीमा क्षेत्रमा पनि प्रभावकारी भूमिका रहने गरी जिम्मेवारी पूरा गर्ने बताइन् । उनले धेरै ठाउँमा जिम्मेवारी लिएर प्रभावकारी काम गर्न नसकिने उल्लेख गर्दै नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्ष पदबाट भने चाडै नै राजीनामा दिने बताइन् ।
विशाल बजार कम्पनीको वित्तीयदेखि व्यवस्थापकीय अवस्था सुधारका लागि निकै मिहेनत गरेको अवस्थामा कम्पनीको साधारण सभा सम्पन्न गराउने उद्देश्य समेत रहेको उनी बताउँछिन् ।
पोखरेल दुई वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन् ।
ऐनअनुसार प्राधिकरण सञ्चालकमा अध्यक्ष र चार जना सञ्चालक हुनुपर्ने व्यवस्था छ । अर्थमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था ऐनमा छ ।
यस्तै, जीवन बीमा र निर्जीवन बीमा क्षेत्रबाट १/१ जना गरी दुई जना सञ्चालक नियुक्त गर्नुपर्ने छ । पाँच सदस्य रहने प्राधिकरणको बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था ऐनले गरेको छ ।