काठमाडौं । एक महीनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारमा आउने १३ समूहगत सूचकमध्ये सात समूहको सूचक घटेको छ भने ६ समूहको सूचक बढेको छ ।
अन्य समूहको सूचक सबैभन्दा बढी वृद्धि भएको छ । यस समूहको सूचक एक महीना अवधिमा १७ दशमलव ०३ प्रतिशत वृद्धि भएको छ ।
माघ महीनाको पछिल्लो कारोबार दिन अन्य समूहको सूचक २ हजार ९० दशमलव १४ रहेकोमा फागुनको पछिल्लो कारोबार दिन बढेर २ हजार ४४६ दशमलव १५ विन्दुमा पुगेको छ । अन्य समूहमा पर्ने नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य उच्च दरले बढेसँगै समूहगत सूचक बढेको हो ।
यी कम्पनी पूँजी वृद्धि अभियानमा रहेकाले आगामी दिनमा आकर्षक बोनस शेयर र हकप्रद शेयरमार्फत पूँजी बढाउने भएकाले लगानीकर्ताको रोजाइमा परेका हुन् ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ भने नेपाल रिइन्स्योरेन्सले पनि पूँजी पुर्याउन हकप्रद शेयर र बोनस शेयरलाई जोड दिन सक्ने विश्वासले पनि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको जानकार बताउँछन् ।
नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापूँजी रू. २० अर्ब पुर्याउन निर्देशन दिएको छ । नेपाल रिइन्स्योरेन्सको चुक्तापूँजी रू. १३ अर्ब ४२ करोड र हिमालयन रिइन्स्योरेन्सको रू. १० अर्ब ४० करोड रहेको छ ।
माघमा सर्वाधिक वृद्धि हुने समूहगत सूचकको दोस्रोमा जीवन बीमा समूह छ । यस समूहको सूचक ६ दशलमव १३ प्रतिशत वृद्धि भएको छ । यस समूहको सूचक माघको पछिल्लो कारोबार दिन १३ हजार ३८ दशमलव ६५ रहेकोमा फागुनको पछिल्लो कारोबार दिन बढेर १३ हजार ८३८ दशमलव २७ विन्दुमा पुगेको हो ।
जीवन बीमा कम्पनीहरूले गत आवको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरिहेका छन् । हालसम्ममा पाँच जीबन बीमा कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । अझै आठ कम्पनीको लाभांश घोषणा हुन बाँकी छ । जसका कारण यो समूहका कम्पनी लगानीकर्ताको रोजाइमा परेका छन् ।
म्युचुअल फण्डको सूचक सबैभन्दा बढी ४ दशलमव ९५ प्रतिशत घटेको छ । यस समूहको सूचक माघ पछिल्लो कारोबार दिन २० दशमलव २ रहेकोमा फागुनको पछिल्लो कारोबार दिन १९ दशमलव २ मा कायम भएको छ ।
त्यस्तै जलविद्युत समूहको सूचक पछिल्लो एक महीनामा ४ दशमलव ५७ प्रतिशत घटेको छ । यस समूहको सूचक माघ महीनाको अन्तिम कारोबार दिन ३ हजार ८३२ दशमलव ९१ विन्दुमा रहेकोमा फागुनको पछिल्लो कारोबार दिन ३ हजार ६५७ दशमलव ५८ विन्दुमा झरेको छ ।