काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९० प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ५ करोड ५० लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १० करोड ४७ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. ७ करोड ८६ लाख रहेकोमा चालू आवको सोही अवधिमा रू. १४ करोड ९७ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. १४ करोड ९१ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ४४ लाख पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा २० रुपैयाँ ३१ पैसा रहेकोमा चालू आवमा ३५ रुपैयाँ २९ पैसा पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १६ करोड छ । कम्पनीले पहिलो त्रैमाससम्ममा रू. १ अर्ब ४० करोड र सञ्चित मुनाफामा रू. ३१ करोड ८१ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २४७ दशमलव ७५ छ ।