सरकारले परियोजना विकास सम्झौता (पीडीए) गर्न ढिलाइ गरेकाले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको काम पनि ढिलो शुरू हुने भएको छ । निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआर र सरकारबीच पीडीए हुन नसक्दा निर्माणको काममा ढिलाइ हुने भएको हो ।
सर्वेक्षणको काम पूरा भए पनि सरकारलाई रिपोर्ट बुझाउन बाँकी रहेको जीएमआर कम्पनीका इञ्जिनीयर प्रदीप नेपालले अभियानलाई बताए । आयोजनाको प्राविधिक रिपोर्ट भने सरकारलाई बुझाइसकेको उनले जानकारी दिए । आयोजनाको सर्वेक्षणको रिपोर्ट बुझाउने समयावधि आउँदो जेठ महीनासम्म छ । रिपोर्ट बुझाउने तयारी भए पनि पीडीए हुन बाँकी रहेकाले निर्माणको काम शुरू हुन नसकेको नेपाल बताउँछन् । पीडीएपछि आयोजना निर्माणका लागि लाग्ने यकिन लागत थाहा हुने उनले बताए । यस्तो सम्झौतामा सरकारले आयोजनाका प्रवर्धकलाई दिने छूट उल्लेख हुन्छ । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रक्रियाअन्तर्गत यो आयोजना निर्माण गर्न सरकारले भारतको जीएमआर कम्पनीलाई जिम्मा दिएको हो ।
सरकारले ५ सय मेगावाटभन्दा ठूला आयोजना लगानी बोर्डमार्फत निर्माण गर्ने निर्णय गरे पनि पीडीएका लागि आवेदन दिएका कुनै पनि आयोजनासँग बोर्डले सम्झौता गरेको छैन । लगानी गर्ने कम्पनीहरूले लगानीको सुरक्षाका लागि पनि सरकार र कम्पनीबीच पीडीए गर्न खोजिरहेको नेपालले बताए ।
वर्ष ७, अंक ३५१, आइतवार १७ भदौ, २०६९