साउन ३, बागलुङ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखरा र पर्यटकीय सम्भावना बोकेको बागलुङ जिल्लाले पर्यटन प्रवद्र्धनका लागि मितेरी साइनो लगाउने तयारी गरेका छन् । पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने योजनाअनुरूप पर्यटकीय सम्भावना बोेकेको बागलुङ जिल्लामा १ देखि २दिनसम्म बस्ने वातावरण तय गर्न दुई निकायबीच मितेरी साइनो गास्ने तयारी गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीकाराम सापकोटाले बताए ।
‘पोखरा आएका पर्यटकलाई कम्तीमा १ देखि २ दिन बागलुङ र ढोरपाटनसम्म लैजान सकेमा देशकै अर्थतन्त्रको विकासमा सहयोग पुग्ने भएकाले दुई क्षेत्रले मितेरी गास्ने तयारी गरिएका हुन्,’ पर्यटन व्यवसायी सापकोटा भने । विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको बागलुङ कालिकामन्दिर, देशको एक मात्र शिकार आरक्षलगायतका स्थानलाई पदमार्गकै अभावमा अगाडि ल्याउन नसकिएको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन बोर्डका सदस्य सापकोटाले यहाँका पर्यटकीय गन्तव्यहरूलाई नक्साङ्कन गरी पर्यटन बोर्डमा सूचीकृत गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । मितेरी साइनो गासेपछि पोखरादेखि बागलुङसम्म पर्यटक बस सञ्चालन गर्ने समेत व्यवसायीको योजना छ ।
प्रारम्भिक चरणमा प्रचारप्रसारसँगै आन्तरिक पर्यटन प्रर्वद्धनमा पर्यटक बसले महŒवपूर्ण भूमिका निर्वाह गर्ने सापकोटा बताउँछन् । पर्यटन प्रवद्र्धनमा पोखरासँग मितेरी साइनो जोडिने भएपछि यहाँका होटलको स्तरोन्नति गर्ने, सरसफाइ, होम स्टे तथा पर्यटकीय मार्गको विकासलगायतका काम स्थानीय व्यवसायी संलग्न छन् ।
‘बोर्डले पदमार्गको विकास गरिदिएमा हामीले होटल, लज तथा यातायातको सुविधाका लागि काम गर्छौं,’ बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, ‘जिल्लाको पहिचानलाई व्यावसायिक रूप दिन सङ्घले अगुवाइ गर्नेछ ।’ पछिल्लो समयमा सङ्घले पर्यटक भिœयाउन महोत्सव गर्ने, घरेलु उत्पादनलाई व्यावसायिक र निर्यातमुखी बनाउनेसमेत कार्यक्रम ल्याएको श्रेष्ठले बताए । मितेरीको पहलले जिल्लाका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । जिल्लामा पर्यटन प्रवद्र्धन समिति निर्माण गर्न र ६ ओटासम्म प्रमुख गन्तव्य निर्माण गर्न पनि सङ्घले पहल गरिरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार बागलुङ कालिकामन्दिर, भकुण्डेको वराहताल, बिहुँको घोडाबाँधेको धुरी, गलकोट घुम्टेको लेक, ढोरपाटन शिकार आरक्ष र निरयघाटलाई प्रमुख गन्तव्यका रूपमा विकास गर्ने तयारी भइरहेको छ ।
बागलुङका पर्यटन व्यवसायीहरूको निमन्त्रणामा आएका पोखराका पर्यटन व्यवसायीसँग मितेरी साइनोको प्रस्ताव राखिएको थियो । प्रमुख पर्यटकीय गन्तव्यको स्थान ढोरपाटन पुग्ने राम्रो बाटो बनाउन पनि यो प्रयासले सघाउने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष अर्जुन चोखालले बताए ।
उद्योग वाणिज्य सङ्घ बागलुङ र लघु उद्यम विकास कार्यक्रमले ढोरपाटनमा रू. ३० लाखको लागतमा अन्तरराष्ट्रिय स्तरको सामुदायिक लज निर्माण गरिरहेका छन् । आगामी साउन १८ गतेदेखि उक्त लज सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यसपछि पर्यटकहरूले सजिलै बस्ने र घुम्ने अवसर पाउने भएकाले अब पदमार्ग र गन्तव्यको घोषणा गर्नुपर्ने पोखराका पर्यटन व्यवसायी वासुदेव त्रिपाठीले बताए । ‘पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न सकेमा बागलुङलाई प्रमुख गन्तव्यकै रूपमा विकास गर्न सकिने भएकाले पूर्वाधार निर्माण र नीतिगत निर्णय गर्नमा सहजीकरण गर्न जरुरी छ,’ त्रिपाठीले भने, ‘पोखराको भविष्य सुरक्षित गर्न पनि धवलागिरि क्षेत्रलाई पर्यटन विकासमा समेटनैपर्छ ।’
बागलुङ नगरमा यसअघि नै पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन गुरुयोजना तयार गरी काम शुरू भएको छ । ‘मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर ः सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर’ नारा अघि सारेर काम थालिसकिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.