कुनै पनि निकायमा एकजना प्रशासकीय प्रमुख हुन्छन् । यस्तो पदलाई कार्यकारी अध्यक्ष, प्रबन्ध सञ्चालक, प्रबन्ध निर्देशक, कार्यकारी सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक जस्ता विभिन्न नामले सम्बोधन गरिन्छ । निकायले तोकेको योग्यता र अनुभव पुगेको जोसुकै व्यक्ति प्रमुख कार्यकारी अधिकृत र महाप्रबन्धक नियुक्त हुनसक्छन् । यी दुई पदबाहेक अन्य पदमा जो पायो त्यही व्यक्ति नियुक्त हुन सक्दैनन् । जोसुकै व्यक्ति प्रशासकीय प्रमुख भए पनि तिनको उद्देश्य संस्थागत संस्कार (कर्पोरेट कल्चर) विकास गर्दै दीर्घकालीन रणनीतिक योजना निर्माण एवम् प्रभावकारी कार्यान्वयन गरी निकायको सफल व्यवस्थापन गर्नु हो । यस आलेखमा विशेष गरी प्रशासकीय प्रमुखको रूपमा आसीन हुने ‘प्रबन्ध सञ्चालक’ को अवधारणा र न्यायिक निकायले के कसरी व्याख्या गरेका छन् भन्ने विषयमा चर्चा गरिन्छ ।
प्रबन्ध सञ्चालकको कानून
प्रबन्ध सञ्चालकलाई ‘प्रबन्ध निर्देशक’ पनि भनिन्छ । यी दुवै पदलाई अङ्ग्रेजी भाषामा ‘म्यानेजिङ डाइरेक्टर’ र छोटकरीमा ‘एमडी’ भनिन्छ । कम्पनी ऐन, २०६३ को दफा २ (र) मा ‘प्रबन्ध सञ्चालक’ भन्नाले कम्पनीको प्रबन्ध सञ्चालक सम्झनुपर्छ भनेको छ । ऐनको दफा २०(१)(ज) मा प्रबन्धपत्रमा उल्लिखित उद्देश्य प्राप्त गर्न बनाइएको नियमावलीमा प्रबन्ध सञ्चालकको अधिकार र कर्तव्य उल्लेख गर्नुपर्छ । ऐनको दफा ९६(१) मा कम्पनीको नियमावलीको अधीनमा रही सञ्चालकले आफूमध्येबाट एकजनालाई प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्छन् भनिएको छ । प्रबन्ध सञ्चालक हुनको लागि ‘सञ्चालक’ हुनुपर्छ र ‘सञ्चालक’ हुनको लागि ‘शेयरधनी’ हुनुपर्छ । शेयर नभएका व्यक्ति सञ्चालक हुन सक्दैन । अपवादको रूपमा शेयर नभएको व्यक्ति स्वतन्त्र सञ्चालक हुनसक्छन् । स्वतन्त्र सञ्चालक पनि प्रबन्ध सञ्चालक हुन सक्छन् । तर, सामान्यतया शेयरधनी सञ्चालक नै प्रबन्ध सञ्चालक बन्न वा हुन सक्छन् ।
प्राइभेट कम्पनीमा स्वतन्त्र सञ्चालकको प्रावधान नभएकाले यस्ता कम्पनीमा स्वतन्त्र सञ्चालकले प्रबन्ध सञ्चालक बन्न अवसर पाउने कुरै हुन्न । पब्लिक कम्पनी खासगरी सूचीकृत पब्लिक कम्पनीमा अनिवार्य रूपमा स्वतन्त्र सञ्चालक नियुक्त गरिए पनि यस्ता सञ्चालकले प्रबन्ध सञ्चालक हुने अवसर पाउने सम्भावना कम हुन्छ । स्वतन्त्र सञ्चालक अध्यक्ष हुन सक्ने सम्भावना हुन्छ । कम्पनीका सबै सञ्चालकको काम, कर्तव्य, अधिकार र सेवासुविधा समान भए पनि स्वतन्त्र सञ्चालकको भूमिका तुलनात्मक रूपमा तटस्थ हुने कारणले यस्ता सञ्चालक अध्यक्ष हुन सक्ने सम्भावना हुन्छ । नेपालमा सूचीकृत केही कम्पनी (बैंक) ले स्वतन्त्र सञ्चालकलाई अध्यक्ष बनाउने अभ्यास गरिरहेका छन् ।
परदायित्व भनेको अरूले गरेको कामको दायित्व वहन हो । उदाहरणका लागि नोकरले गरेको कामको दायित्व मालिकले लिनुपर्छ किनभने यहाँ काम लगाउने मालिक हुन्छ । तर, सधैं यस्तो दायित्व वहन गर्नुपर्दैन ।
नेपालका सूचीकृत कम्पनीमा अपवादबाहेक सञ्चालक गैरकार्यकारी भूमिकामा हुन्छन् । यिनले कम्पनीको दैनिक प्रशासकीय कामकाज गर्दैनन् । यी सञ्चालक समितिको बैठकमा मात्र उपस्थित हुन्छन् । प्रशासकीय प्रमुखको भूमिकामा गैरसञ्चालक (सञ्चालकबाहेकका व्यक्ति) नियुक्त हुन्छन् । तर, प्राइभेट कम्पनीमा अपवादबाहेक प्रशासकीय प्रमुखको भूमिकामा सञ्चालक नै हुन्छन् । प्रबन्ध सञ्चालकको काम, कर्तव्य र अधिकार नियमावलीमा लेखिएबमोजिम वा सञ्चालक समितिले तोकेबमोजिम हुन्छ । कुनै सूचीकृत कम्पनीबाट बैठक भत्ताबाहेक नियमित पारिश्रमिक वा सुविधा प्राप्त गरिरहेको सञ्चालकलाई नियमित पारिश्रमिक वा सुविधा पाउने गरी अर्को सूचीकृत कम्पनीमा प्रबन्ध सञ्चालकको पदमा नियुक्त गर्न नसकिने व्यवस्था छ ।
निकायको प्रशासकीय प्रमुखको रूपमा नियुक्त हुने प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धकले भन्दा बढी जिम्मेवारी प्रबन्ध सञ्चालकले लिनुपर्छ । प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक प्रशासकीय प्रमुखको रूपमा मात्र बढी जिम्मेवार हुन्छन् भने प्रबन्ध सञ्चालक बोर्डको पनि सदस्य भएकाले दुवै भूमिका निर्वाह गर्नुपर्छ । प्रशासकीय प्रमुखको भूमिकामा रहने प्रमुख कार्यकारी अधिकृत वा प्रबन्ध सञ्चालक कम्पनी वा निकायको उद्देश्य प्राप्त गर्न रणनीतिक योजना बनाउने, त्यसलाई कार्यान्वयन गराउने र कर्मचारी व्यवस्थापनमार्फत नेतृत्व दिने व्यक्ति हो । प्रशासकीय प्रमुख हितग्राहीलाई उच्चतम प्रतिफल दिन दीर्घकालीन नीति निर्माण गरेर समुचित वित्तीय व्यवस्थापन, जोखिम न्यूनीकरण र दिगो विकासका लागि आवश्यक निर्णय लिन्छन् । साथै निकायलाई स्थायित्व र प्रगतिको दिशामा अघि बढाउन नेतृत्व गर्छन् । प्रशासकीय नेतृत्वमा रहँदा अनेकौं झमेलाको सामनासमेत गर्नुपर्छ । परिलक्ष्यित गरिएका दिशामा अघि बढ्दा आउने व्यावहारिक कठिनाइ र कानूनी उल्झनसमेतको सामना गर्नुपर्छ ।
प्रबन्ध सञ्चालकको कानूनी अस्तित्व
कम्पनी ऐनले कुनै पनि कम्पनीमा बढीमा ११ जनासम्म सञ्चालक रहन सक्ने व्यवस्था गरेको छ । प्राइभेट कम्पनी एकजना व्यक्तिले पनि दर्ता गर्नसक्छन् । यस्ता कम्पनीमा सञ्चालक भने पनि शेयरधनी भने पनि एकै व्यक्ति हुन्छन् । यस्ता कम्पनीमा सिर्जना हुने सम्पूर्ण दायित्व एकै व्यक्तिले वहन गर्नुपर्छ । कम्पनी र शेयरधनीको फरक अस्तित्व हुन्छ भने पनि एक व्यक्तिले खडा गरेको कम्पनीको कहिलेकाहीँ कम्पनीको आवरण उतारेर हेरिन्छ । यस्तो बेलामा कम्पनी र शेयरधनीको अलग अस्तित्व स्वीकार गरिन्न । एकल शेयरधनी भएको कम्पनी मात्र हैन, बहुल शेयरधनी भएको कम्पनीको पनि कम्पनी र शेयरधनीको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गरिएका थुप्रै मुद्दा छन् । एकल शेयरधनी भएको कम्पनीको आवरण हटाउने विषयमा डिनश मानेकजी पेटिट (१९२७) को मुद्दा निकै चर्चित छ । डिनशले आफू मात्र शेयरधनी भएको चारओटा कम्पनी खडा गरेका थिए । कर प्रशासनले करसम्बन्धी छानबिन गर्दा कम्पनीमार्फत गरेको लगानीबाट प्राप्त लाभांश रकम कम्पनीसँग डिनशले ऋण लिएका थिए । तर, उनले कम्पनीको ऋण कहिल्यै तिरेनन् । यसरी उनले कम्पनीबाट लाभांशको रूपमा रकम लिनुपर्नेमा सो नगरी ऋणको रूपमा लिएर कर छली गरेका थिए । कर छल्ने प्रयोजनको लागि मात्र डिनशले कम्पनी खडा गरेकाले यहाँ कम्पनीको स्वतन्त्र अस्तिव स्वीकार गरिएन । कम्पनीमा तोकिएको सीमाभित्र रहेका सबै शेयरधनी कम्पनीको दैनिक प्रशासनमा प्रत्यक्ष रूपमा संलग्न हुँदैनन् । सबै सञ्चालकलाई पुग्ने जिम्मेवारी पनि नहुने हुँदा त्यसमध्ये कुनै एक सञ्चालकलाई कम्पनीको दैनिक प्रशासकीय काम गर्नको लागि सञ्चालक समितिले अख्तियारी दिन्छ । अन्य सञ्चालक बैठक र साधारणसभामा मात्र उपस्थित हुन्छन् । यस्तो अवस्थामा कुनै पनि दायित्वको भागिदार दैनिक प्रशासकीय कार्य गर्न अख्तियार पाएको सञ्चालक मात्र हुन्छ ।
प्रबन्ध सञ्चालकको परदायित्व
परदायित्व भनेको अरूले गरेको कामको दायित्व वहन हो । उदाहरणका लागि नोकरले गरेको कामको दायित्व मालिकले लिनुपर्छ किनभने यहाँ काम लगाउने मालिक हुन्छ । तर, सधैं यस्तो दायित्व वहन गर्नुपर्दैन । परदायित्व कानूनी, नैतिक, प्रशासनिक, सामाजिकलगायत विभिन्न प्रकारका हुन्छन् । कानूनले तोकेको आधारमा अरूले गरेको कामको जिम्मेवारी लिनुपर्ने अवस्था हुन्छ । कुनै कम्पनीको मुख्य जिम्मेवार भई कार्य गर्ने व्यक्तिले अधीनस्थ कर्मचारीले गरेको कामको जिम्मेवारी लिनुपर्छ । परदायित्व आफ्नो निर्देशन, आदेश वा नियन्त्रणमा राखेर काम गराउँदा लागू हुन्छ । आफ्नै विवेकले गरेको काममा वा नियतवश गल्ती गरेको छ भने त्यस्तो अवस्थामा काम लगाउने व्यक्तिले परदायित्व वहन गर्नुपर्दैन । मुलुकी देवानी संहिता, २०७४ को दफा ५१ मा ‘कसैले कानूनी व्यक्तिको तर्फबाट कुनै कामकारबाही गर्दा कसैलाई कुनै किसिमको हानिनोक्सानी पर्न गएमा त्यसको जिम्मेवारी त्यस्तो कानूनी व्यक्तिको हुनेछ र त्यसको क्षतिपूर्ति सम्बन्धित कानूनी व्यक्तिले बेहोर्नुपर्नेछ । तर, कानूनी व्यक्तिको उद्देश्य वा कार्यक्षेत्र बाहिर रही वा बदनियतपूर्वक गरेको कामकारबाहीबाट कसैलाई हानिनोक्सानी हुन गएमा त्यस्तो काम गर्ने सञ्चालक वा व्यक्ति नै व्यक्तिगत रूपमा जिम्मेवार हुनेछ’ भनिएको छ । त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा ३० मा ‘कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस संहिता वा कानूनबमोजिम कसुर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदार र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व बेहोर्नुपर्ने’ व्यवस्था छ ।
अदालती व्याख्यामा प्रबन्ध सञ्चालक
नेपाल सरकारविरुद्ध समुल ग्रुप इन्डष्ट्रिज प्रा.लि. को एउटा मुद्दामा सर्वोच्च अदालतले ‘परदायित्व’ शब्दको उल्लेख नगरे पनि दैनिक प्रशासकीय कामकारबाहीमा संलग्न हुने व्यक्ति दोषी हुन्छ भनेको छ । यस मुद्दामा प्रबन्ध सञ्चालक दैनिक प्रशासकीय कामकारबाहीमा संलग्न थिए । स्वच्छ पिउने पानी उत्पादन गर्ने उद्देश्य भएको कम्पनीले तोकिएको मापदण्डविपरीत पानी उत्पादन गरेर बिक्री गर्नु कम्पनीको उद्देश्य र कार्यक्षेत्र बाहिरको कार्य हो । यसै आधारमा उक्त कम्पनीका प्रबन्ध सञ्चालकलाई दोषी ठहर गरिएको थियो । अदालतले फैसलामा ‘कुनै पनि कम्पनीमा धेरै जना सञ्चालक रहन सक्ने भए तापनि कम्पनीको दैनिक कार्य सञ्चालनमा सबै सञ्चालक मुख्य जिम्मेवार नहुन पनि सक्ने अवस्था स्वाभाविक नै देखिन्छ। कम्पनी सञ्चालनमा जिम्मेवार नरहेका सञ्चालक तथा शेयरधनीलाई कम्पनीमा भएको कसुर वा कम्पनीको उत्पादनमा गुणस्तर कायम नरहेको विषय जानकारी नहुन पनि सक्ने हुँदा कम्पनी सञ्चालक भएकै कारणले मात्र कम्पनीमा भएको कसुरमा जिम्मेवार तुल्याउनु न्यायका दृष्टिसमेतले उचित देखिँदैन’ भनेको छ । उक्त कम्पनीका आठ जना सञ्चालकमध्ये एकजना प्रबन्ध सञ्चालकको रूपमा कार्यरत थिए । यस हिसाबले कम्पनीले उत्पादन गर्ने पिउने पानीको उत्पादन र वितरणमा मुख्य जिम्मेवार प्रबन्ध सञ्चालक थिए । अन्य सञ्चालक कम्पनी सञ्चालनमा तथा कम्पनीले उत्पादन गर्ने पिउने पानी उत्पादनमा प्रत्यक्ष रूपमा संलग्न थिएनन् । कम्पनीको सञ्चालक भएकै मात्र कारणले गोश्वारा रूपमा सबै सञ्चालकलाई कसुरमा जिम्मेवार ठहर्याउन नहुने ठहर अदालतले गरेको थियो । त्यस्तै, युनिटी लाइफ इन्टरनेशनल लिमिटेडको मुद्दामा कुनै ऐनमा नै कम्पनीको तर्फबाट काम गर्ने सञ्चालक, कर्मचारी वा व्यक्ति नै व्यक्तिगत रूपमा सजायका भागी हुने भन्ने स्पष्ट व्यवस्था गरिएको अवस्थामा कम्पनीको नाममा काम गर्ने सञ्चालक, कर्मचारी वा व्यक्ति विरुद्ध कारबाही चलाउन पाइने फैसला गरेको थियो ।
प्रशासकीय प्रमुखको रूपमा आसीन कार्यकारी अध्यक्षले वहन गर्नुपर्ने दायित्व जिम्मेवारी समान हुन्छ । त्यस्तै, प्रशासकीय प्रमुख पदलाई ‘कार्यकारी सञ्चालक’ पनि भनिन्छ । कार्यकारी भूमिका निर्वाह गर्ने व्यक्तिले ‘यो मेरो दायित्व हो, त्यो मेरो दायित्व हैन’ भनेर पन्छिन मिल्दैन । कार्यकारी भूमिकामा रहेपछि समस्त कानूनी दायित्व निर्वाह गर्नुपर्छ ।
शिवकुमार जाटियाविरुद्ध दिल्ली, नेशनल क्यापिटल टेरीटोरी (२०१९) को मुद्दामा भारतको सर्वोच्च अदालतले होटेलको छैठौं तल्लाबाट खसेर एकजना व्यक्तिलाई चोट लागेको घटनामा कम्पनीका प्रबन्ध सञ्चालक शिवकुमार जाटियालगायत कुनै पनि कर्मचारीले जिम्मेवारी वहन गर्नु नपर्ने भन्दै सफाइ दिएको थियो । घटना विवरणअनुसार सन् २०१३ को अक्टोबरमा गौरव ऋषि नामका एक व्यक्ति भारतको दिल्लीस्थित एसियन होटल्स (नर्थ) लिमिटेडद्वारा सञ्चालित होटेल ह्यात रिजेन्सीको छैठौँ तलामा रहेको क्लबमा अमेरिकी नागरिक रेबेका र मार्गारिटासँग वाइन खाँदै गर्दा ‘धुम्रपान’ का लागि टेरेसमा गएका थिए । धुम्रपान गर्ने क्रममा उनी छैठौं तल्लाको टेरेसबाट चौथो तल्लामा खसेका थिए । टेरेसमा बत्तीको व्यवस्था नगर्नु, त्यस्तो स्थल आगन्तुकलाई धुम्रपानका लागि अनुमति दिनु भारतीय दण्ड संहिताअनुसार ‘अरूको जीवन वा व्यक्तिगत सुरक्षालाई खतरामा पार्ने कार्य गरेको’ आरोप लगाइएको थियो । अदालतले यसलाई होटेल व्यवस्थापनको ‘सामान्य प्रशासनिक कमजोरी’ को रूपमा ग्रहण गर्दै होटेलका कुनै पनि कर्मचारीमा ‘आपराधिक मनसाय’ नभएकाले अभियोग खारेज गरेको थियो । यो मुद्दाको शुरुआती सुनुवाइ गर्दै दिल्ली हाइकोर्टले होटलका प्रबन्ध निर्देशक शिवकुमार जाटियालगायत विरुद्ध मुद्दा अघि बढाउन आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले हाइकोर्टको यस्तो आदेशलाई खारेज गर्दै अभियोग खारेज गर्न आदेश दिएको थियो ।
अन्त्यमा, यस आलेखमा प्रबन्ध सञ्चालकको कुरा गरिए पनि समग्रमा जेसुकै नाम दिइएको कम्पनी वा निकायको प्रशासकीय प्रमुखको भूमिका, चुनौती र जिम्मेवारीको चर्चा हो । कम्पनीमा प्रशासकीय प्रमुखको रूपमा प्रबन्ध सञ्चालक मात्र हैन, सञ्चालकमध्येबाट छानिएका अध्यक्ष पनि कार्यकारी भूमिकामा रहन सक्छन् । अध्यक्ष नै कार्यकारी भूमिकामा आसीन भएमा यस्तो पदलाई ‘कार्यकारी अध्यक्ष’ भनिन्छ । प्रशासकीय प्रमुखको रूपमा आसीन कार्यकारी अध्यक्षले वहन गर्नुपर्ने दायित्व जिम्मेवारी समान हुन्छ । त्यस्तै, प्रशासकीय प्रमुख पदलाई ‘कार्यकारी सञ्चालक’ पनि भनिन्छ । कार्यकारी भूमिका निर्वाह गर्ने व्यक्तिले ‘यो मेरो दायित्व हो, त्यो मेरो दायित्व हैन’ भनेर पन्छिन मिल्दैन । कार्यकारी भूमिकामा रहेपछि समस्त कानूनी दायित्व निर्वाह गर्नुपर्छ । अघिल्ला अनुच्छेदमा चर्चा गरिएका कानूनी विवादमा अदालतले दिएको निर्णयले पनि त्यही कुराको सङ्केत गर्छ ।
लेखक शेयरसम्बन्धी अध्येता एवं करपोरेट अधिवक्ता हुन् ।