काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकको विशेष समयमा उनले देश र जनतालाई केन्द्रित गरेर नीति कार्यक्रम र बजेट तर्जुमा नहुँदा आर्थिक समृद्धिले गति लिन नसकेको बताए । उनले भने, “यसअघिका सबै बजेट परम्परागत भएकाले विकासले गति लिन सकेन, कुनै पनि बजेटले उत्पादन र रोजगारी वृद्धिका साथै निर्यात बढाउन सकेको छैन ।”
सांसद केसीले स्रोतसाधनलाई अध्ययन गरेर आत्मनिर्भरमुखी र कृषिमा आधारित बजेट ल्याउन सरकारलाई सुझाव दिए । “बजेट ल्याउनुभन्दा तीन महिनाअघिदेखि बजेटका बारेमा छलफल गर्नुपर्ने भनिए पनि त्यसो हुन सकेको छैन, यही अधिवेशनमा करिब ३२ वटा विधेयक पारित गर्नुपर्ने छ, तर पनि मेरो अनुरोध छ, यो अधिवेशनले सबैभन्दा बढी ध्यान बजेटमाथिको छलफललाई प्राथमिकता दिनुपर्छ,” उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद पदम गिरीले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भइरहेको बताउँदै मुलुक र जनताको आवश्यकताका आधारमा बनेको सरकारले जनभावना सम्बोधन गर्ने धारणा राखे । “वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा लाग्ने प्रतिबद्धता अनुसार गठन भएको हो । सरकारमा सहभागी दलहरू सो सहमतिप्रति प्रतिबद्ध छन्, मुलुकमा सुशासन र विकास कायम गर्न र विकासलाई अगाडि बढाएर लैजान सरकार प्रतिबद्ध छ”, उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले जनभावना सम्बोधन गर्नुपर्नेमा जोड दिँदै संविधान र कानुन नमान्ने, बेथिति र विकृति बढाउने गतिविधि कसैले गर्न नहुने धारणा राखे । उनले यस्ता गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । “प्रतिपक्षले सत्तापक्षलाई रुपान्तरण गर्न खबरदारी गर्ने हो, रुपान्तरित हुँदै जनताप्रति इमान्दार हुनु सबैको दायित्व हो,” उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकारले युवापुस्ताको राजनीतिक भविष्य समाप्त पार्ने अगाडि बढ्न नहुने सुझाव दिए । सरकारले गर्ने नियुक्ति र सिफारिस दक्षता र विज्ञाताका आधारमा गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक ज्ञानबहादुर शाहीले सरकारले जुनसुकै अवस्थामा पनि जनताको जीउधनको सुरक्षा गर्नुपर्नेमा जोड दिए । तीनकुने घटनाको न्यायिक छानबिन समिति गठन गर्न माग गर्दै उनले ठूला भ्रष्टाचारका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, लघुवित्त तथा सहकारीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले वितरणमुखी नभई उत्पादन र रोजगारमुखी बजेट ल्याउन सुझाव दिइन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले प्रदर्शनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पहुँचका आधारमा अनुत्पादक क्षेत्रमा बजेट विनियोजन नगर्न सुझाव दिँदै जनतालाई केन्द्रमा राखेर बजेट र नीति कार्यक्रम ल्याउन आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले जनताले आन्दोलनमार्फत फ्याँकेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने उल्लेख गर्दै राजतन्त्रका पक्षमा झुटको खेती नगर्न पूर्वराजा समर्थकलाई सुझाव दिए ।
आम जनता पार्टीका सांसद प्रभु साहले वर्तमान सरकारले सुशासन आयोग गठन गरेसँगै यसको प्रभावकारी कार्यसम्पादनमा जोड दिनुपर्ने बताए ।
सांसद मुक्ताकुमारी यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको ‘भाटभटेनीको मदिरा लुटपाटमा कांग्रेस सहमाहमन्त्रीको छोरा संलग्न’सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् । रासस