चितवन। पर्यटकीय स्थलको प्रवर्द्धन गर्न चितवन राइनो राइडर्स मोटरसाइकल क्लबले मेघौली–बारपाक मोटरसाइकल र्यालीको आयोजना गरेको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा आयोजना गरिएको मोटरसाइकल यात्रामा मोटरसाइकलको पछाडि सवारसमेत गरी कम्तीमा १७० जना सहभागी हुने अपेक्षा गरिएको छ । ‘ह्विल्स अन हिल्स’को पाँचौं संस्करणअन्तर्गत आयोजना गरिएको मोटरसाइकल र्यालीमा सहभागी राइडरले सोमवार राति मेघौलीको साराङ वाइल्डलाइफ स्यान्चुरीमा ‘इभ प्रि पार्टी’ गर्ने चितवन राइनो राइडर्स मोटरसाइकल क्लबका अध्यक्ष प्रीतम श्रेष्ठले जानकारी दिए । मंगलवार (डिसेम्बर ३१ मा) बिहान मेघौलीबाट मोटरसाइकल र्याली शुरू हुने बताइएको छ ।
मोटरसाइकल र्यालीमा सहभागी हुने सबै मोटरसाइकल रोयल इन्फिल्डको हुने चितवन राइनो राइडर्स एमसी क्लबका उपाध्यक्ष मन्दिपमान श्रेष्ठले बताए । उनका अनुसार राइडरहरूले बारपाकमै पुगेर नयाँ वर्ष मनाउनेछन् । मोटरसाइकल यात्रामा भारतका आठ र भुटानको एक गरी २५ क्लबका राइडर सहभागी हुनेछन् ।
मोटरसाइकल यात्रामा सहभागी हुने राइडरबाट रजिष्ट्रेशनबापत पहिलो चरणमा ६ हजार ५०० र दोस्रो चरणमा ७ हजार ५०० रुपैयाँ शुल्क लिइएको बताइएको छ । कार्यक्रमलाई विभिन्न कम्पनीले प्रायोजन समेत गरेका छन् । ‘रजिष्ट्रेशन र प्रायोजकबाट उठेको रकमबाट राइडरलाई खान र बस्नको व्यवस्था गरेका छौं । बचेको रकमबाट आवश्यक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्नेछौं,’ श्रेष्ठले भने । र्यालीका सहभागी सबै राइडरले ध्वनी प्रदुषण नगरी मोटरसाइकल चलाउने चितवन राइनो राइडर्स एमसी क्लबका बोर्ड सदस्य डा. शशांककुमार सिंहले बताए ।