काठमाडौं । क्यासिनो नियमावली २०७० मा रहेको एउटा कम्पनी (होटेल वा रिसोर्ट)ले एउटा मात्रै क्यासिनो सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यान्वयन नभएका बेला सरकारले यो व्यवस्थालाई ऐनमै समावेश गर्न खोजेको छ ।
हालै राष्ट्रियसभामा दर्ता भएको पर्यटन ऐन, २०३५ लाई संशोधन र एकीकरण गर्न बनेको पर्यटन विधेयक, २०८१ मा एक कम्पनी एक क्यासिनो हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
पर्यटन विभाग स्रोतका अनुसार २०७० को नियमावलीदेखि नै एउटा कम्पनीले एउटै मात्र क्यासिनो सञ्चालन गर्ने नियम भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।
- ४९ प्रतिशत लगानी हुने गरी विदेशी लगानीकर्तासँग संयुक्त क्यासिनो
- शेयर अनुपात नमिलेकाको हकमा १ वर्षभित्रै अनुपात कायम गर्नुपर्ने
- चारतारे वा त्योेभन्दा माथिल्लो स्तरका होटेल वा रिसोर्ट नवीकरण नभएमा त्यहाँ सञ्चालित क्यासिनोको इजाजत नवीकरण नहुने
- क्यासिनोमा यस्ता होटेल/रिसोर्टको १० प्रतिशत शेयर स्वामित्व हुनुपर्ने हालसम्म २६ ओटा क्यासिनो दर्ता
‘कतिपय एउटै कम्पनीले चारओटासम्म क्यासिनो चलाएका छन् । अदालतको अन्तरिम आदेश लिएर त्यस्ता कम्पनीले क्यासिनो चलाएका छन् । त्यसो गर्न नपाउने भए पनि अदालतबाट आदेश लिएर चलाएका छन्,’ विभाग स्रोतले भनेको छ । अहिले प्रस्तावित विधेयकमा त्यसरी क्यासिनो चलाउन नपाउने र अहिले एकभन्दा बढी क्यासिनो सञ्चालन गरेकालाई २०८२ असार मसान्तसम्म एउटामा झार्न र अन्यलाई छुट्टै कम्पनी बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।
विभागका अनुसार २६ ओटा क्यासिनो दर्ता छन् । धेरैजसो काठमाडौं उपत्यकामा र केही तराई भेगका ४/५ तारे होटेल तथा रिसोर्टले सञ्चालन गरेका छन् । नेपालमा आउने पर्यटकको मनोरञ्जनका लागि परम्परागत वा आधुनिक मेशिन उपकरणका माध्यमबाट क्यासिनोस्थलमा बाजी (बेट) राखी रकम जित वा हार हुने गरी खेलिने यस्तो खेल खेलाउन एक कम्पनीलाई एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न इजाजत नदिने तयारी भएको छ । ‘कुनै कम्पनीले एउटा इजाजतबाट एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भएमा २०८२ असार मसान्तभित्र कम्पनीले रोजेको कुनै एउटा क्यासिनो मात्र सञ्चालन गर्न सकिनेछ,’ विधेयकमा भनिएको छ ।
यसैगरी उक्त विधेयकमा विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्ने प्रावधान छ । नियमावलीमा विदेशी र स्वदेशी कम्पनीको कति प्रतिशत लगानी हुने भन्ने स्पष्ट पारिएको छैन । यद्यपि प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा भने संयुक्त लगानीमा नेपालमा क्यासिनो सञ्चालन गर्दा विदेशी लगानीकर्ताको बढीमा ४९ प्रतिशत लगानी हुनुपर्ने व्यवस्था गरिएको छ ।
बाँकी लगानी अर्थात् ५१ प्रतिशत स्वदेशी लगानीकर्ताको हुनुपर्ने विधेयकमा उल्लेख छ । यसअघि स्वदेशी र विदेशी लगानीकर्ताले संयुक्त रूपमा लगानी गरेका तर शेयर अनुपात नमिलेकाको हकमा १ वर्षभित्र तोकिएको शेयर अनुपात कायम गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
चारतारे वा त्योभन्दा माथिल्लो स्तरका होटेल वा रिसोर्ट नवीकरण नभएमा सम्बद्ध होटेल तथा रिसोर्ट परिसरमा सञ्चालित क्यासिनोको इजाजत नवीकरण नगर्ने व्यवस्था पनि गर्न लागिएको छ । उक्त विधेयकमा चार तारा वा त्योभन्दा माथिका होटेल तथा रिसोर्ट परिसरमा क्यासिनो सञ्चालन गर्न सहमति लिँदा त्यसमा होटेल/रिसोर्टको १० प्रतिशत शेयर स्वामित्व हुनुपर्ने प्रावधान राखिएको छ ।