नेपालले विभिन्न क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न विभिन्न कानूनी सुधार गरे पनि अपेक्षाको ज्यादै न्यून लगानी भित्रिएको छ । उद्योग विभागमा दर्ता भएको विदेशी लगानीका उद्योगले लगानी प्रतिबद्धता तुलनात्मक राम्रै गरे पनि वास्तविक विदेशी लगानी भने ज्यादै न्यून हुने गरेको छ । चालू आर्थिक वर्ष (आव) को प्रथम ६ महीनामा यसरी प्रतिबद्धता भएको विदेशी लगानी सबैभन्दा बढी पर्यटन क्षेत्रमा रहेको छ । यसले नेपालको पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउन सकिने सम्भावनालाई उजागर गर्छ । यद्यपि यस क्षेत्रमा ठूला लगानीभन्दा सानो लगानी बढी भित्रिएको छ जसले गर्दा पर्यटन क्षेत्रमा रूपान्तरण हुने सम्भावना भने कमै देखिएको छ ।
उद्योग विभागका अनुसार चालू आव २०८१/८२ को पुस मसान्तसम्ममा मुलुकको पर्यटन क्षेत्रमा १६ अर्ब ९६ करोड ५५ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । उक्त अवधिमा कुल २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रमा ६५ दशमलव ८१ प्रतिशत रहेको छ । पाँचतारे होटलदेखि रेस्टुराँसम्ममा विदेशी लगानीको प्रस्ताव आएको देखिन्छ । नेपालको अर्थतन्त्रमा पर्यटन सम्भावना बोकेको एउटा महत्त्वपूर्ण क्षेत्र हो भन्नेमा नीतिनिर्मातादेखि व्यवसायीसम्मले आत्मसात् गरेका छन् । यस्तोमा दिगो पर्यटनका लागि आवश्यक लगानी विदेशबाट भित्रियो भने यसले दूरगामी प्रभाव पार्न सक्छ । तर, अहिले आएका प्रस्तावहरू हेर्दा सानातिना क्षेत्रमा मात्रै लगानीको प्रस्ताव आएको देखिन्छ । खासमा नेपालमा साहसिक खेल, ठूला थिम पार्क, स्थानीय स्रोतको उपयोग हुने खालका पर्यटन पूर्वाधार बढी आवश्यक छ । नेपालको भूबनोट र स्थानीय संस्कृतिलाई जोडेर पर्यटन प्रडक्ट तयार पार्ने गरी नवीन सोचको पर्यटनमा लगानी आवश्यक छ जसले गर्दा गुणस्तरीय पर्यटकको आगमन बढोस्, तिनले गर्ने खर्च र बसाइ अवधि बढोस् । अहिले आएका प्रस्तावले यी काम गर्न सके पर्यटन क्षेत्रलाई राम्रै लाभ मिल्नेछ । तर, नेपालीले जसरी सञ्चालन गरेका छन् त्यस्तै खालको कामका लागि मात्रै लगानी आउने हो भने त्यसले न सेवाको गुणस्तर बढाउँछ र पर्यटनबाट नेपालले पाउने लाभ नै बढाउँछ । अत: कस्तो खाले लगानी आएको छ भन्ने कुराले निकै अर्थ राख्छ ।
कोरोना शुरू हुनुअघिको पर्यटन क्षेत्रमा वैदेशिक लगानीको अवस्था हेर्ने हो भने चिनियाँ लगानीका होटेल रेस्टुँरामा बढी लगानी आएको देखिन्छ । कोरोनाको कहर शुरू भएसँगै धेरै चिनियाँ लगानीका रेस्टुराँहरू बन्द भए । चिनियाँ लगानीका पूर्वाधार चिनियाँ पर्यटकलक्षित नै थिए । त्यसैले त्यो लगानीले नेपालमा रोजगारी कति सृजना गर्यो, सरकारले कति कर प्राप्त गर्यो र विदेशी मुद्रा कति आर्जन गर्यो भन्नेमा सरकारले पर्याप्त अध्ययन गर्न नसकेको देखिन्छ । औद्योगिक व्यवसाय ऐन–२०७६ अनुसार पर्यटन उद्योगअन्तर्गत विदेशी लगानीकर्ताका लागि पर्यटन आवास, मोटेल, रिसोर्ट, बार तथा रेस्टुराँ, ट्राभल एजेन्सी, टुर अप्रेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज, स्पामा लगानी गर्न खुला गरिएको छ । त्यसैगरी साहसिक पर्यटनका ट्रेकिङ, स्किइङ, प्याराग्लाइडिङ, र्याफ्िटङ, हट एयर बेलुनिङ, क्यानोइङ, प्यारासेलिङ, हिमाल आरोहण, स्काइवाकिङजस्ता क्षेत्रमा पनि विदेशी लगानी खुला गरिएको छ । दिगो पर्यटनका लागि आवश्यक क्षेत्रमा लगानी भित्त्याउन बढी प्रयास गर्नुपर्ने देखिन्छ । केही वर्षयता धेरै नया होटेलहरू विदेशी चेन होटेलको व्यवस्थापनमा सञ्चालन भइरहेका छन् । होटेल पूर्वाधार बढे पनि पर्यटक संख्या त्यसअनुसार बढ्न सकेको छैन ।
यसैबीच नेपालको पर्यटन प्रवर्द्धनमा अहिले चीन–नेपाल दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल भ्रमण वर्ष २०२५ मनाउने क्रम शुरू भएको छ । चीनले नेपालमा अहिले विविध कार्यक्रम गरेको छ । यसलाई व्यापक बनाउन र चीनले देखाएको सदाशयतालाई पर्यटन प्रवर्द्धनमा पूर्ण उपयोग गर्न नेपाल चुकेको अनुभव हुँदै छ । जेजस्तो स्तरमा जसरी कार्यक्रम हुनुपर्ने हो त्यो हुन सकेको देखिँदैन । चीनले गर्ने कार्यक्रम उसको उद्देश्यअनुसार होला तर त्यसलाई नेपालको पक्षमा पार्ने गरी अवसरको उपयोग गर्नु आवश्यक छ । यही अवसरमा नेपालको ठूला पर्यटन पूर्वाधारमा चिनियाँ लगानी ल्याउन सकिन्छ भने त्यतातिर प्रयास पनि गर्नुपर्छ । त्यस्तै चिनियाँ टुर अपरेटरहरूसँग नेपाली पर्यटन व्यवसायीलाई जोड्न सक्ने हो भने पनि चिनियाँ पर्यटक प्रशस्त ल्याउन सकिन्छ । तर, चिनियाँहरू आउने, आफ्नै होटेलमा बस्ने, आफ्नै कार्यक्रममा सहभागी हुने काम मात्र भयो भने पर्यटनले सोचेजति लाभ लिन सक्दैन ।