काठमाडौं (अस) । गत साता बजार बन्द हुँदा विश्व शेयर बजार ऋणात्मक अवस्थामा देखिएको छ । अघिल्ला २÷३ साता निरन्तर रूपमा सुधार हुँदै आएको विश्व शेयर बजार गत साता घट्दो अवस्थामा रहेको हो । खासगरी पछिल्लो समयमा विश्व अर्थतन्त्रमा आएको सुस्तीसँगै शेयर बजारको गति पनि मन्द भएको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुस्तीसँगै यूरोप र एशियाली अर्थतन्त्रमा पनि त्यसको प्रभाव परेको हो । सोही कारण ती क्षेत्रका प्रमुख शेयर परिसूचकमा नकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।
पछिल्लो समयमा कच्चा तेलको भाउमा आएको तीव्र कमीले वालस्ट्रिट सूचकहरू (डाउजोन्स, नाष्डाक र एस एण्ड पी ५००) नराम्ररी प्रभावित भएका छन् । यसले तेल र ऊर्जा कम्पनीहरूको शेयरमूल्यमा व्यापक कमी आएको छ । गत जुलाईयता यो परिसूचकमा करीब ४० प्रतिशतभन्दा धेरै कमी आएको छ । यो कमीले उक्त परिसूचक भण्डै ५ वर्षकै न्यून बिन्दुमा ओर्लेको छ ।
अमेरिका
गत शुक्रवार बजार बन्द हुँदा त्यहाँका प्रमुख शेयर परिसूचक ‘एस एण्ड पी ५००’ १ दशमलव ६२ प्रतिशत घट्यो भने सातागत रूपमा यो परिसूचकमा झिनो (०.१६∞) नोक्सानमा देखिएको छ । यस्तै, गत शुक्रवार ‘डाउजोन्स’ १ दशमलव ७९ प्रतिशत घट्यो । साप्ताहिक रूपमा पनि यो परिसूचकले ३ दशमलव ७७ प्रतिशत नोक्सान बेहोरेको छ । साप्ताहिक रूपमा ‘नाष्डाक’ परिसूचक १ सय २७ दशमलव १५ अङ्क (२ दशमलव ६५ प्रतिशत) ऋणात्मक भएको छ । यस्तै, गत शुक्रवार १ दशमलव १६ प्रतिशत नोक्सानसँगै यो परिसूचक बन्द भएको छ ।
यूरोेप
गत शुक्रवार बजार बन्द हुँदा यूरोपेली क्षेत्रका सबै परिसूचक नकारात्मक अवस्थामा बन्द भए । सो अवधिमा बेलायतको ‘एफटीएसई १००’ साढे २ प्रतिशत घट्यो । सातागत रूपमा पनि यो परिसूचक ६ दशमलव ६५ प्रतिशत ऋणात्मक देखिएको छ । यस्तै, सातागत रूपमा जर्मनीको ‘ड्याक्स’ले ४ दशमलव ८८ प्रतिशत र फ्रान्सको ‘क्याक ४०’ले ७ प्रतिशत नोक्सान बेहोरेका छन् । गत शुक्रवार बजार बन्द हुँदा पनि क्याक ४० २ दशमलव ७७ प्रतिशत र ‘ड्याक्स’ २ दशमलव ७२ प्रतिशत ऋणात्मक देखिएका छन् ।
एशिया
गत साता एशियाली शेयर बजार मिश्रित देखिएका छन् । गत शुक्रवार बजार बन्द हुँदा जापानको ‘निक्केई’ र चीनको ‘साङ्घाई कम्पोजिट’बाहेक अन्य परिसूचक ऋणात्मक देखिएका छन् । सातागत रूपमा भने ‘निक्केई’ घटेको छ भने साङ्घाई कम्पोजिटमा झिनो सुधार देखिएको छ ।