काठमाडौं । सरकारले गत मङ्सिरमा सुन आयातमा लाग्ने भन्सार महशुल दर घटाएपछि पुसमा यसको आयात ह्वात्तै बढेको देखिएको छ । मङ्सिरदेखि नै सुन आयात बढ्न थाले पनि पुसमा धेरै गुणाले बढेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्म १८५ किलो ९७८ ग्राम काँचो सुन आयात भएकोमा पुसमा ४०० किलो १०१ ग्राम आयात भएको छ । साउनदेखि मङ्सिरसम्म सुन आयात गर्न २ अर्ब ४ करोड रुपैयाँ खर्च भएकोमा पुस १ महीनामै ४ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ ।
मङ्सिर दोस्रो हप्ता सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल दर २० बाट घटाएर १० प्रतिशत कायम गरेको थियो । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत सरकारले सुन आयातमा लाग्ने भन्सार दर ५ बाट बढाएर २० प्रतिशत बनाएको थियो ।
- मङ्सिर दोस्रो हप्ता सुन आयातमा लाग्ने भन्सार महशुल २० बाट घटाएर १० प्रतिशत कायम
- मङ्सिरदेखि नै सुन आयात बढ्ने क्रम शुरू
- व्यवसायी भन्छन्– यो परिमाणले पनि पुग्दैन
भन्सार महशुल दरमा ५० प्रतिशतले कटौती गरेपछि त्यसको असर आयातमा देखिएको हो । सुन व्यापारीले भारतको तुलनामा उच्च रहेको भन्सार दर र उच्च रूपमा बढेको सुनको मूल्यका कारण यसको आयात हुन नसकेको बताउँदै आएका थिए ।
भारतले गत साउनमा सुनको भन्सार महशुल १५ बाट ६ प्रतिशतमा झारेपछि भारतको तुलनामा नेपालमा सुन महँगो हुने र भारतबाट तस्करी हुने खतरा व्यापारीले औंल्याउँदै आएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर भन्सार दर समायोजन गर्न पटकपटक आग्रह गरेपछि सरकारलाई दबाब परेको थियो ।
भन्सार महशुल बढेका बेला बजारमा सुनको माग नभएको भन्दै बैंकहरूले पनि यसको आयात सीमित गरेका थिए । सुन आयात अघिल्लो आवको तुलनामा अस्वाभाविक रूपमा नगन्य भएपछि सरकारको राजस्वमा पनि असर परेको थियो । यसले सरकारलाई सुनको भन्सार महशुलमा पुनर्विचार गर्न बाध्य बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले सुन आयातमा लाग्ने भन्सार दर घटाउनुअघि औपचारिक आयात निकै कम भए पनि अवैध आयात बढेको बताए । अहिले भन्सार घटेपछि औपचारिक रूपमै आयात बढेको हो । नेपालमा वाणिज्य बैंकलाई मात्र सुन आयात गर्ने अनुमति छ ।
पुसमा धेरै अघिदेखि रोकिएको हिसाबकिताब मिलाउन बिल चाहिने भएकाले औपचारिक रूपमा भित्रिएको सुन खरीद बढेको शाक्यले बताए । पहिला बैंकले सुन नल्याउँदा व्यवसायीले आफ्नो पुरानो स्टक पनि परिचालन गरेको उनले बताए ।
भारत सरकारले सुनको भन्सार घटाएको तर नेपालले नघटाएको बेला चोरीपैठारी बढ्दा बैंकले आयात गरेको सुन पनि विक्री भएको थिएन ।
देव कर्नर ज्वेलर्सका सञ्चालक देवरत्न शाक्यले माघमा लगन धेरै भएको हुँदा पुसमा धेरै सुन आयात भएको बताए । ‘अर्काेतर्फ अहिले आयात परिमाण बढेको भए पनि हाम्रो आवश्यकताभन्दा कम हो,’ शाक्यले भने, ‘बजारलाई पुग्दो कच्चा सुन अझै आइपुगेको छैन । महासंघले बिहीवारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६०० रुपैयाँ तोकेको थियो ।