पूँजी निर्माण तथा पूर्वाधार विकास र विस्तार गर्न सरकारले गर्ने खर्च हरेक वर्ष घट्दै गएको छ । सरकारले यसै पनि पूँजीगत बजेटमा कम रकम छुट्ट्याउँछ, त्यसमा पनि खर्च ज्यादै न्यून हुने गरेको छ । भएको खर्च पनि आर्थिक वर्षको अन्त्यमा हतारहतारमा सक्ने प्रवृत्ति झनै बढ्दो छ । यसले मुलुकको अर्थतन्त्र नै प्रभावित भएको छ र पूर्वाधारहरू महँगा हुनुका साथै तिनबाट उचित प्रतिफल लिनसमेत नसकिएको अवस्था छ । यसमा सुधार नल्याउने हो भने जस्तो सरकार बने पनि तात्त्विक अन्तर आउने देखिँदैन ।
गत आर्थिक वर्ष (आव) मा सरकारले संशोधित बजेटको ८० दशमलव ४४ प्रतिशत रकम खर्च गरेको छ । त्यसमा पूँजीगत खर्च ६३ दशमलव ४७ प्रतिशत रहेको छ । झट्ट हेर्दा यो खर्च ठीकै देखिए पनि यो आवको अन्त्यमा हतारहतार गरिएको खर्च हो । जेठ महीनामा कुल बजेट खर्च ६७ प्रतिशत ३३ प्रतिशत थियो भने पूँजीगत खर्च ४४ दशमलव ३ प्रतिशत मात्रै छ । असार १ महीनाभित्र कुल पूँजीगत बजेटको झन्डै २० प्रतिशत रकम खर्च भएको छ । यो नेपालको विकास निर्माणको बेथिति हो । आवमा अन्तिम महीनामा यसरी धेरै खर्च हुँदा रकमान्तर र शीर्षकान्तर गरेको पाइन्छ । यो प्रवृत्ति यो वर्षमात्र होइन, यो दशकमात्र होइन, धेरै लामो समयदेखि हुँदै आएको छ । यसलाई रोक्न सरकार असफल भएको छ । खासमा कर्मचारीतन्त्रलाई काममा लगाउन नसक्नुको परिणति यो हो भन्न सकिन्छ । यद्यपि आवको अन्त्यमा अघिल्ला महीनाहरूमा रोकिएको भुक्तानी हुँदा पनि बढी खर्च भएको हुन्छ ।
सरकारले विकास निर्माणका कामलाई गति दिन नसक्दा विदेशी सहायताको रकम पनि खर्च गर्न नसकेर सरकारले शोधभर्ना लिन सक्दैन । विश्व बैंक, एशियाली विकास बैंकजस्ता धेरै विदेशी संस्थाले दिने ऋण सहायताको रकम पहिले सरकारले आफ्नै पैसा खर्च गर्छ र पछि शोधभर्ना लिनुपर्छ । आफै खर्च गर्न नसकेपछि शोधभर्ना पाउने कुरै भएन ।
सरकारले पूँजीगत खर्च बढाउन कर्मचारी यन्त्रले दिएको सुझावलाई कार्यान्वयन गर्दै आएको छ । बजेट जिम्मेवारीदेखि कार्य सम्पादन करारसम्मका विधि असफल भएका छन् । बजेट ढिला आएकाले काम गर्न नसकिएको भन्ने कर्मचारीको गुनासोलाई सम्बोधन गर्न संविधानमै उल्लेख गरेर बजेट जेठ १५ गते ल्याउनैपर्ने अनिवार्य व्यवस्था गरियो । त्यसअनुसार आर्थिक वर्ष शुरू हुनुभन्दा डेढ महीनाअघि नै नयाँ बजेट ल्याउन थालिएको छ र आव शुरू हुँदा त्यो पारित पनि भइसक्ने गरेको छ । तर पनि बजेट कार्यान्वयनमा सरकारी संयन्त्रले काम गरिरहेको छैन । न समयमा ठेक्का लाग्छ, न काम नगर्ने ठेकेदारलाई कारबाही हुन्छ । सबै काममा विलम्ब गर्ने र अन्त्यमा हतारहतार बजेट सक्ने मेलो मिलाउने काम भइरहेको छ । यस्तो खर्चले विकास निर्माण गुणस्तरहीन बनिरहेको छ । असारमा खर्च गरेर बनाएको सडक साउनमा कामै नलाग्ने हुने गरेको समेत पाइएको छ ।
दोष कर्मचारीतन्त्रको मात्र छैन, बजेटमा कार्यक्रम राख्दा विस्तृत अध्ययन नभएका, बीचमा खुसुक्क घुसाइएको परियोजनाले पनि बजेट खर्चमा समस्या परेको छ । तर, यो त्यति ठूलो परिमाणको भने हुँदैन । अझ गौरवका राष्ट्रिय योजनाको बेथितिको कुरा गरिसाध्य छैन ।
खासमा अन्तरसरकारी समन्वय नहुने, काम गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परिने तर कामै नगर्दा पनि चोखो भइने भएकाले कर्मचारीतन्त्र जोखिम लिएर काम गर्न चाहँदैन । त्यसैले कर्मचारीको यो मनोवृत्ति र प्रवृत्तिमा परिवर्तन ल्याउन आवश्यक छ । समयसीमासहित परिणाम निकाल्ने गरी काममा खटाउने र उसले लिएका निर्णयमा सरकारको साथ रहने हो भने त्यसले कर्मचारीको मनोबल बढाउँछ । हुन त पुरस्कार र दण्डको व्यवस्था गरिएको वित्तीय उत्तरदायित्व ऐन पनि छ तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । त्यसैले ऐनका प्रावधान कार्यान्वयन नगर्ने हो भने पूँजीगत खर्चको बेथिति रोक्न सकिँदैन जसले गर्दा नेपालको विकासको गति धिमा नै रहिरहनेछ ।