झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ ओटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताए । ती ट्रकहरू दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिए ।
बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरूको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पु(याइरहेको छ । ँनेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरू पानीट्याङ्कीस्थित भारतीय भन्सारमा रोकिएका छन्”, अध्यक्ष प्रसाईंले भने, "न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ ।”
भारतीय भन्सारले तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको प्रसाईंले बताए । नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई जिएसटी करसमेत तिरिसकेको जनाएका छन् । नेपालमा ८० ओटा प्लाई उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम रु २५ करोड लगानी हुने उद्योगीहरू बताउँछन् । नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौं लगानी जोखिममा पर्ने र हजारौँले रोजगारी गुमाउने जनाइएको छ ।
आर्थिक वर्ष २०८०र८१ मा नेपालबाट रु सात अर्ब ४३ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव २०७९र८० मा रु चार अर्ब ७० करोड र आव २०७८र७९ मा रु ३५ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा मुलुकलाई ठूलो आर्थिक क्षति पुगिरहेको बताए ।
प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनिकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने निर्यात वस्तु भएकाले यसको निर्वाध निर्यातको वातावरण बनाउन सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनुपर्ने तिम्सिनाको सुझाव छ । भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगले कामदारहरूको काम गर्ने अवधि कटौती गर्न थालेका छन् ।
तिम्सिनाका अनुसार विगतमा २४ घण्टा चल्ने प्लाइउड कारखानाहरू हाल मुस्किलले आठ घण्टा सञ्चालन भइरहेका छन् । प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ । महासङ्घले नेपाल सरकार, परराष्ट्रमन्त्री र भारतीय राजदूतावाससँग कुराकानी गरिरहेको सङ्घका अध्यक्ष प्रसाईंले बताए । "प्लाइउड निर्यात कुनै हालतमा रोकिनु हुँदैन भनेका छौँ”, प्रसाईंले भने, "नेपाली उद्योगले बिआइएसका लागि आवेदन भरेको एक वर्ष भइसक्यो । अहिलेसम्म न प्रमाणपत्र दिएको छ, न भन्सार खुला गरेको छ ।”