टक्सार (भोजपुर) । बन्द भएको तीन महीनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान शुरू भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान शुरू गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।
विसं २०३५ देखि उडान शुरू भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरू मारमा परेका थिए ।
निगमका दुई ओटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।