काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको औपचारिक जानकारी गराएको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत सोमवारको मन्त्रिपरिषद बैठकका निर्णयबारे औपचारिकरूपमा जानकारी दिएका हुन् ।
उक्त बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएर उक्त पदमा हितेन्द्र देव शाक्यलाई निर्णय गरेको मन्त्री गुरुङले बताए ।
बैठकले यही चैत १९ देखि २३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
यस्तै, विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पूर्वगभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य रहने सिफारिस समिति गठन गर्नेलगायत निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।