काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको फागुनसम्मको दूरसञ्चार सूचकांक प्रतिवेदनमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक वर्ल्डलिंक देखिएको छ भने दोस्रोमा नेपाल टेलिकम रहेको छ ।
वर्ल्डलिंकले ३१.९९ प्रतिशत बजार हिस्सा ओगट्दा नेपाल टेलिकमले ११.३८ प्रतिशत बजार हिस्सा पाएको छ ।
उक्त प्रतिवेदनमा वर्ल्डलिंकका ग्राहक ९ लाख ८६ हजार ७९ जना छन् । तर, वर्ल्डलिंकले उपलब्ध गराएको यही चैत ७ गतेसम्मको तथ्यांकअनुसार उसका ग्राहक संख्या १० लाख नाघिसकेका छन् ।
वर्ल्डलिंक १० लाख ग्राहक संख्या पुग्ने पहिलो इन्टरनेट सेवा प्रदायक बनेको छ । कम्पनीले यही आधारमा विज्ञापन समेत गर्दै आएको छ ।
प्रतिवेदनअनुसार वर्ल्डलिंककै भगिनी संस्था वाइफाइ नेपाल १०औं स्थानमा पर्छ, यसका जम्मा ग्राहक संख्या ६६ हजार १२६ हजार छन् ।
नेपाल टेलिकमका भने ३ लाख ५० हजार ६७६ जना ग्राहक रहेका छन् ।
त्यस्तै प्रमुख २० इन्टरनेट सेवाप्रदायक भित्र पर्ने अन्य इन्टरनेट कम्पनीमा डिश मिडिया नेटवर्क लिमिटेड, सुबिसु केबलनेट लिमिटेड, भियानेट कम्युनिकेसन्स लिमिटेड, वेबसर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रा. लि., क्लासिक टेक प्रा. लि., टेकमाइन्ड्स नेटवर्क प्रा. लि., सी. जी. कम्युनिकेसन्स लि., ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन्स लि.,फाइबरवर्ल्ड कम्युनिकेसन्स प्रा. लि., साजिलो नेट प्रा. लि., कनेक्ट नेपाल नेटवर्क प्रा. लि., फर्स्टलिंक कम्युनिकेसन्स प्रा. लि., चित्रवन युनिक नेट प्रा. लि.,एरोनेट प्रा. लि., पोखरा इन्टरनेट प्रा. लि., एभरेस्ट वायरलेस नेटवर्क प्रा. लि., आई. जोन प्रा. लि. रहेका छन् ।
नेपालको टेलिफोन सेवाको ९८.३८१ प्रतिशत बजार हिस्सा मोबाइल सेवाले ओगटेको छ । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने फिक्स टेलिफोन सेवा मात्रै १.३८१ प्रतिशत रहेको छ ।
तथ्यांक अनुसार नेपालमा जम्मा प्रयोगकर्ता भ्वाइस सेवातर्फ २ करोड ९७ लाख ७६ हजार २९९ जना छन् । योसँगै नेपाली बजारमा धेरै हिस्सा नेपाल दूरसञ्चार कम्मपनी (एनटीसी)को रहेको छ । एनटीसीले ५१.५२४ प्रतिशत बजार पाएको छ भने एनसेल नेपालले ४८.४७२ प्रतिशत बजार पाएको छ ।
नेपालमा २ करोड ९० लाख ८६ हजार २६८ जना इन्टरनेटको पहुँचमा छन् । इन्टरनेट प्रविधि अनुसार फिक्स्ड ब्रोडब्यान्ड तारजडित प्रयोगकर्ता ३० लाख ५२ हजार ५०९ जना छन् । त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड ताररहित प्रयोगकर्ता ३० हजार २१७ जना छन् भने मोबाइल फिक्स्ड ब्रोडब्यान्डतर्फ २ करोड ६० लाख ३ हजार ५४२ रहेका छन् ।
टुजी प्रयोगकर्ता झन्डै ३४ लाख बढी
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा दोस्रो पुस्ताको टेलिफोन अर्थात टुजी सेवा प्रयोग गर्नेको संख्या ३३ लाख ८३ हजार ९१९ छ । यो संख्या थ्रीजीको तुलनामा चारगुणाभन्दा बढी हो । नेपालमा थ्रीजी प्रयोग गर्नेको संख्या ८ लाख ८७ हजार ७७३ छ । फोरजी सेवा लिने भने २ करोड ५१ लाख १७ हजार ७६९ जना छन् । फाइभजी सेवा भने परीक्षणमै छ । यो सेवाको परीक्षण अनुमति पाएको टेलिकमले अल्झाएर बसेको छ ।