काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमा निर्धारण गरे पनि बैैंक, वित्तीय संस्थाबाट सुुनचाँदी धितोमा कर्जा प्रवाह वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको कात्तिकसम्ममा सुनचाँदी धितोमा ६२ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गतवर्ष कात्तिकसम्ममा ५१ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेकोमा १ वर्षको अवधिमा यस्तो कर्जा २२ दशमलव १३ प्रतिशतले बढेको छ । यसैगरी चालू आवको असारको तुलनामा कात्तिकसम्ममा सुनचाँदी धितो कर्जा ७ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकले असोजमा एकीकृत निर्देशन संशोधन गरी बैंकहरूले सुनचाँदी धितोमा एक जना ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्न नपाइने गरी सीमा निर्धारण गरेको छ । सीमा तोकेको १ महीनामा सुुनचाँदी धितोमा बैंकहरूको कर्जा प्रवाह करीब २ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
सुनको मूल्य उच्च हुँदा बैंकहरूको कर्जा जोखिम कम गर्न सीमा तोकिएको र यसले बजारमा परेको प्रभावको मूल्यांकन भइरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘सुनको मूल्य उच्च रहेको र यसमा बैंकहरूको जोखिम कम गर्न सीमा तोकेका हौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसमा बैंकहरूको लगानीलाई हामीले मूल्यांकन गरिरहेका छौं ।’ बैंकहरूले यसअघि प्रवाह गरेको कर्जाको हकमा सीमा कार्यान्वयन गर्न २०८३ असारसम्मको समय दिएकाले त्यसपछि मात्र यसको वास्तविक अवस्था आउने राष्ट्र बैंकले बताएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवारका लागि सुनको भाउ प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँ निर्धारण गरेको छ । एक वर्षयता सुनको भाउ प्रतितोला १ लाख रुपैयाँभन्दा माथि छ । बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर ५० देखि ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन् । सुनको मूल्य वृद्धिसँगै बैंकहरूको जोखिम कम गर्न राष्ट्र बैंकले सीमा तोकेको हो ।
नेपाली समाजमा सुन तथा चाँदीलाई खासगरी गहनाका रूपमा प्रयोग गर्ने भए पनि यसलाई अप्ठ्यारो पर्दा तुरुन्त रकममा परिवर्तन गर्न सकिने भएकाले बचतका रूपमा समेत लिइन्छ । सर्वसाधारणले पैसा बचत हुँदा सुन किन्ने र आफूलाई अप्ठ्यारो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन छ ।
शुरू शुरूमा सुन किनेको पसलबाट धितो राखेर कर्जा लिने सर्वसाधारण विस्तारै बैंक, वित्तीय संस्थामा आकर्षित हुन थालेका छन् । बैंकहरूले पनि उपभोग्य शीर्षकअन्तर्गत छोटो समयमा लागि सुनचाँदी धितो लिएर दिने गरेका छन् । सर्वसाधारणले पनि छिटो प्रक्रियाबाट कर्जा दिने भएकाले सर्वसाधारणले आफूलाई अप्ठ्यारो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन् । ऋण लिने प्रक्रिया सरल भएको र छिटो हुनुका साथै ब्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबीच लोकप्रिय छ ।