काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त बरिष्ठ सहायक (प्रशासन, नगद र सूचना प्रविधि सेवाका) ८३ जना र अधिकृत स्तरका ६ जना गरी जम्मा ८९ जना कर्मचारीलाई चौधदिने पूर्व सेवाकालीन तालीम दिएको छ ।
तालीममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आफूले सैद्धान्तिक रूपमा सिकेका ज्ञानलाई व्यवहारमा उतारी ग्राहकलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न लाग्नुपर्ने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।
कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त वरिष्ठ सहायक ८३ जना कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रम मानव संसाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जिसी लगायत कर्मचारीको उपस्थिति थियो । बैंकले हाल २९४ शाखा कार्यालय, ७२ एक्सटेन्सन काउन्टर, ३१२ एटिएम र ९९ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।