काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहे पनि अहिले सुधार हुँदै गएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औं वार्षिकोत्सवको अवसरमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा लगाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह अवरोहसहित अघि बढेको राष्ट्रिय वाणिज्य बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । उनले भने, ‘यो बैंकको पूँजीको विकासका लागि आउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको छ ।’
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले नेपाल सरकारले प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरे कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनशील जस्ता क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागिपरेको बताए । बैंकले सुन खरीद विक्री गर्ने कार्य समेत शुरू गरेको र बैंकिङ सेवा सुविधामा गुणस्तर बढाउँदै थप विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउने काम प्राथमिकताका साथ भइरहेको जानकारी उनले दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप रू. ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट रू. २ खर्ब ८४ अर्ब, चुक्तापूँजी रू. १५ अर्ब ६३ करोड, कुल सम्पत्ति रू. ५ खर्ब २६ अर्ब तथा खुद सम्पत्ति रू. ५२ अर्ब पुगेको जानकारी दिए । पुस मसान्तमा बैंकको कोषको लागत ३ दशमलव ८१ प्रतिशत तथा आधारदर ५ दशमलव ४४ प्रतिशत रहेको उनले बताए । चालू आर्थिक वर्षदेखि साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जामार्फत सेवा विस्तार गर्ने कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
सो अवसरमा विशेषांक स्मारिका ‘उपहार २०८१’ विमोचन गरिएको थियो । । साथै बैंकका हालै सञ्चालनमा आएका २७ शाखा कार्यालय र विभिन्न नवनिर्मित भवन भच्र्युअल माध्यमबाट औपचारिक रूपमा उद्घाटन गरिएको थियो । वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रम समेत आयोजना गरिएको थियो ।