काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विकको सन्दर्भ पारेर चैत ४ देखि १० गतेसम्म ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ नारासहित साताव्यापी साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएको बैंकले जानकारी दिएको छ । बैंकले विभिन्न स्कुल तथा कलेजका विद्यार्थीको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । सो अवसरमा बैंकसँग कारोबार गर्दा हुने फाइदा, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पासवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
बैंकका शाखा कार्यालयमा विद्यार्थीलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय सचेतनाबारे ज्ञान प्रदान गरिएको थियो । साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्री समेत प्रसारण गरिएको थियो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलत: किशोर/किशोरी तथा युवा/युवती लक्षित वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले शुरू गरिएको अभियान हो ।