काठमाडौं। राष्ट्रिय वाणिज्य (रावा) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ सेवा निवृत्त भएका छन् । आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बिहीवारदेखि उनले अवकाश पाएका हुन् ।
बैंकको रिक्त रहेको उक्त पदमा शुक्रवार (आज)देखि लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायम मुकायम (कामु)को जिम्मेवारी तोकिएको छ । बैंक व्यवस्थापनको तर्फबाट बुधवार गरिएको बिदाइ कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रूपमा उभ्याउन सीईओ श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारी, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धक लगायतको उपस्थिति थियो ।