काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) विवादका सम्बन्धमा थप अनुसन्धान आवश्यक नरहेको बताएपछि अनुसन्धान तामेलीमा राखिएको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको थियो । नेपाल धितोपत्र बोर्डले थप अनुसन्धान आवश्यक नरहेको आशयको पत्र पठाएपछि हाललाई ब्युरोमा परेको उजुरी तामेलीमा राखिएको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आर्थिक अभियानलाई बताए ।
सीआईबीले साउन ३२ गते धितोपत्र बोर्डलाई लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ बोर्डको चलानी नं २७८, मिति २०८१/०४/२३ गतेको पत्र प्राप्त भई बेहोरा अवगत भयो । त्यस सम्बन्धमा रिलायन्स स्पिनिङ मिल्स लिको सार्वजनिक निष्कासनको सम्बन्धमा यस ब्युरोमा परेको उजुरी हाललाई तामेलीमा राखिएको बेहोरा जानकारीका लागि अनुरोध छ ।’
उक्त कम्पनीको आईपीओका सम्बन्धमा सीआईबीमा परेको उजुरी पत्र जस्ताको त्यस्तै बोर्डमा पठाइएको र उक्त उजुरीका आधारमा बोर्डले छानबिन गर्दा थप छानबिन गर्न आवश्यक नहुने आशयसहितको प्रतिवेदन प्राप्त भएकाले हाललाई छानबिन नगर्ने गरी तामेलीमा राखिएको प्रवक्ता बोगटीले बताए ।
‘समाचारमा आएजस्तै यो क्लिन चिट होइन,’ उनले भने, ‘भोलिका दिनमा थप प्रमाण प्राप्त भई अनुसन्धान गर्न आवश्यक भएमा सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाउनेछ ।’
सर्वसाधारणमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आईपीओ विक्री गर्न कम्पनीलाई नियामक निकाय धितोपत्र बोर्डले असार १२ गते स्वीकृति दिएको थियो । कम्पनीले असार २७ गतेदेखि सर्वसाधारणतर्फको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विक्री गर्ने तयारी गरेको थियो ।
कम्पनीको आईपीओ महँगो मूल्यमा निष्कासन हुन लागेको चर्को आलोचनाबीच असार २५ गते प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई १ साताभित्र जवाफ पठाउने गरी पाँच प्रश्न सोध्दै पत्राचार गरेको थियो । असार २६ गतेको बोर्ड सञ्चालक समिति बैठकले तत्कालका लागि कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
कमजोर आर्थिक अवस्था भएको कम्पनीको महँगो मूल्यको आईपीओ रोक्नुपर्ने माग गर्दै सीआईबीसँगै उच्च अदालत पाटन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । उच्च अदालतले पनि कम्पनीको आईपीओ तत्कालका लागि रोक्न अल्पकालीन आदेश दिएको छ । अख्तियारले पनि यो विषयमा अनुसन्धान गरिरहेको छ । बोर्डले पठाएको पाँच प्रश्नको जवाफका आधारमा यतिबेला सार्वजनिक लेखा समितिले समेत छानबिन गरिरहेको छ ।
बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. नवराज अधिकारीले रिलायन्सको आईपीओका सम्बन्धमा सीआईबीले पठाएको चिठीबारे आफूलाई जानकारी नभएको बताए । सीआईबीलाई पठाइएको पत्र तयार गर्ने विभागबाट आफूलाई यसबारे कुनै जानकारी नआएको डा. अधिकारीले दाबी गरे ।
कम्पनीले सर्वसाधारणका लागि ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । अनुमतिसँगै सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले विक्री गर्न लागेको थियो । यसअघि कम्पनीले गत माघमा योग्य संस्थागत लगानीकर्तामा ७ लाख ७० हजार ६४० कित्ता शेयर विक्री गरिसकेको छ । प्रतिकित्ता ९१२ रुपैयाँमा योग्य संस्थागत लगानीकर्तालाई शेयर बेचेको कम्पनीले उक्त मूल्यभन्दा १० प्रतिशत कममा सर्वसाधारणलाई आईपीओमार्फत शेयर विक्री गर्न लागेको हो ।
योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ जारी गर्नुअघि सार्वजनिक वित्तीय विवरण र कम्पनीको पछिल्लो वित्तीय विवरण फरक परेको छ । गत चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसा छ । २०८० असार मसान्तसम्म ५४ रुपैयाँ ३४ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको पछिल्लो ९ महीनामा प्रतिशेयर आम्दानी उल्लेख्य घटेको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको आईपीओ मूल्यबाट लगानीकर्तामा भार पर्ने चर्चा चलेको थियो ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रलाई आधार मान्दा अघिल्लो आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ५ पैसा छ । ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँभन्दा बढी विद्युत् महशुल दायित्व गणना गर्नुपर्दाको अवस्थामा भने कम्पनीको चैत मसान्तसम्मको लेखापरीक्षकबाट प्रमाणित प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४५ पैसा हुने स्पष्ट पारेको छ । यी आधारमा कम्पनीको आईपीओ मूल्य लगानीकर्तामा भार पर्ने देखिएको थियो ।
यस्तो अवस्थाबीच पनि नियामक निकायले कम्पनीको आईपीओ सम्बन्धमा कुनै कैफियत नभएको प्रतिवेदन सीआईबीलाई बुझाएको भन्दै बोर्डका उच्च अधिकारीहरूले समेत पछिल्लो वित्तीय विवरणमा केही शंका गर्ने ठाउँ रहेको बताउँदै आएका थिए । यस विषयमा विभिन्न निकायले छानबिन गरिरहेको अवस्थामा बोर्डबाटै सीआईबीले अनुसन्धान अगाडि बढाउन नपर्ने गरी चिठी गएको सीआईबीले जनाएको छ ।
कम्पनीको वित्तीय विवरणमा आशंका
कम्पनी अघिल्लो आव २०७९/८० सम्मको वास्तविक वित्तीय विवरणअनुसार ९२ करोड ७८ लाख रुपैयाँभन्दा बढी नाफामा थियो । गत आवको चैत मसान्तसम्म भने कम्पनीको नाफा २ करोड ६३ लाख रुपैयाँभन्दा बढीमा खुम्चिएको छ । गत आव २०८०/८१ भित्र कम्पनीले ४ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको थियो ।
कम्पनीले यसअघि माघ २ गते जारी गरेको आह्वान पत्र र असार १९ गते जारी गरेको आह्वानपत्रमा ३ आवको वास्तविक विवरण नै फरक पर्न गएको छ । यसअघि आव २०७९/८० सम्मको प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा थियो । अहिलेको आह्वानपत्रमा वास्तविक प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ शून्य ५ पैसा उल्लेख छ । पहिला र अहिलेको वित्तीय विवरणमा प्रतिशेयर नेवटर्थ नै ६ रुपैयाँ ६२ पैसा फरक परेको छ ।