काठमाडौं । ऋणपत्र र म्युचुअल फन्ड सार्वजनिक निष्कासन स्वीकृति ९ महीनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डले पछिल्लोपटक पोहोर पुस २ गते नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई १० वर्ष अवधिको ऋणपत्र निष्कासन अनुमति दिएको थियो । पुस १ गते कुमारी क्यापिटल लिमिटेडले कुमारी सबल योजनाको एकाइ विक्री गर्न अनुमति पाएको थियो । त्यसपछि ऋणपत्र र म्युचुअल फन्डका लागि बोर्डले स्वीकृति दिएको छैन । यतिबेला ७ कम्पनी १ करोड ७८ लाख कित्ता ऋणपत्र र ९ म्युचुअल फन्ड ७९ करोड ५० लाख एकाइ निष्कासनको स्वीकृति पर्खिरहेका छन् ।
ऋणपत्र निष्कासनका लागि आइसिएफसी फाइनान्स, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एभरेष्ट बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले निवेदन दिएका हुन् । राष्ट्रिय वाणिज्य बैंकले २०७९ भदौ १४ गते नै निवेदन दिए पनि हालसम्म स्वीकृति पाएको छैन । त्यस्तै म्युचुअल फन्डका लागि एनआईसी एशिया क्यापिटल, हिमालयन क्यापिटल, एनएमबि क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेष्टमेण्ट बैंकिङ, मुक्तिनाथ क्यापिटल, सानिमा क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र गरिमा क्यापिटल पखाइमा छन् ।
पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुस २० गतेपछि अध्यक्षविहीन अवस्थामा छ । पछिल्लो समय धितोपत्र ऐन संशोधन भएसँगै बोर्ड अध्यक्ष पद रिक्त रहेको अवस्थामा अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालकले अध्यक्षसरह काम गर्न सक्ने व्यवस्था गत वैशाख १ गतेदेखि लागू भएको छ । यसबीचमा अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालक तीन जना फेरिए पनि सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियाको गति भने फेरिएको छैन ।
हाल बोर्डको अध्यक्षसरह जिम्मेवारी अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालक सहसचिव महेश बरालले पाएका छन् । अध्यक्ष बरालको सल्लाहबमोजिम बोर्डले अब सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया विवादित नहुने गरी अघि बढाउने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. नवराज अधिकारीले बताए । उनले संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिको निर्देशन विपरीत नहुने गरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र हकप्रद शेयर निष्कासनका लागि अनुमति दिने र लामो समय रोकिएको ऋणपत्र र म्युचुअल फन्डको स्वीकृति पनि अघि बढ्ने जानकारी दिए ।
सार्वजनिक लेखासमितिले दिएको निर्देशनबमोजिम ऋणपत्र र म्युचुअल फन्डको स्वीकृति रोक्नुपर्ने अवस्था नरहेको समेत डा. अधिकारीले बताए । अब सम्बद्ध कम्पनीको फाइल अपडेट गरी योग्य कम्पनीको आवेदन स्वीकृत हुने अधिकारीको भनाइ छ ।
सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया गत पुसदेखि प्रभावित हुँदा लगानीकर्ताले निराशा व्यक्त गर्न थालेका छन् । प्राथमिक बजारलाई पहिलो लगानी माध्यमका रूपमा अँगाल्दै आएका लगानीकर्ता डम्बरुवल्लभ घिमिरे सार्वजनिक निष्कासनले निरन्तरता पाउनुपर्ने बताउँछन् ।
अहिले बैंकमा निक्षेपको ब्याजदर कम छ । बैंक ब्याजदरभन्दा बढी ब्याजदर रहेको ऋणपत्र यतिबेला बजारमा आउँदा लगानीकर्ताको आकर्षण बढी हुने तर्क उनको छ । धितोपत्र बजारमा म्युचुअल फन्डले संस्थागत लगानीकर्ताको भूमिका निर्वाह गर्ने भएकाले यसलाई बजारमा भित्रिन सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । प्राथमिक बजार शून्य हुन नहुने भन्दै घिमिरेले नियामक निकायले यस विषयमा छिटो निकास दिने गरी काम गनुपर्ने बताए ।
यतिबेला प्राथमिक बजार शून्य छ । पुसपछि केही कम्पनीले आईपीओ र केहीले हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पाए पनि ऋणपत्र र म्युचुअल फन्डले स्वीकृति पाएका छैनन् । पुसपछि असार १२ गते बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न रिलायन्स स्पिनिङ मिल्सले र असार २३ गते थप सार्वजनिक निष्कासन (एफपीओ) बेच्न सूर्योदय वोमी लघुवित्तले अनुमति पाएको थियो । त्यस्तै असार ७ गते हिमालयन ऊर्जा विकास कम्पनीले शतप्रतिशत र असार १९ गते आँखुखोला जलविद्युत् कम्पनीले १५० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएका थिए । यसबीचमा अनुमति पाउने यी कम्पनीमध्ये रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवादित भएसँगै प्रारम्भिक शेयर निष्कासन प्रक्रिया रोकिएको छ ।
सार्वजनिक लेखासमितिले ९० रुपैयाँभन्दा कम प्रतिशेयर नेटवर्थ भएका कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति नदिन धितोपत्र बोर्डको नाममा निर्देशन गरेको छ । तर, आईपीओबाहेकका सार्वजनिक निष्कासनको धितोपत्र रोक्न निर्देशन नभएको अवस्थामा बोर्डले ऋणपत्र र म्युचुअल फन्डको स्वीकृति अघि नबढाएको लगानीकर्ताको गुनासो छ ।