चितवन। रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिका–१०, दूरसञ्चार रोडमा रहेको भरोसा हस्पिटल चितवन प्रालिबीच नगरवासीलाई स्वास्थ्य सेवामा छूट दिने सम्झौता भएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा र भरोसा हस्पिटल चितवन प्रालिका प्रमुख कार्यकारी अधिकृत रमेश खनियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार उक्त अस्पतालको जनरल बेड र नियमित ल्याब टेस्ट (स्पेसल परीक्षणबाहेक)मा रत्ननगरका बासिन्दाले ४० प्रतिशत छूट पाउनेछन् । यस्तै, आइसियू बेड, एक्सरे र शल्यक्रियामा ३० प्रतिशत छूट पाउनेछन् भने औषधि खरीदमा ७ प्रतिशत छूट पाउनेछन् ।
भरोसा हस्पिटलमा उपचार गराउन चाहने बिरामीले आफ्नो नागरिकताको फोटोकपी वा वडाको सिफारिश पत्रको विवरण फोन वा एसएमएसमार्फत जानकारी गराएमा छूट सुविधा पाउनेछन् । बिरामीले छूट सुविधा पाएको जानकारी अस्पतालले वेबसाइटमा राख्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । नगर प्रमुख सापकोटाका अनुसार यो सम्झौता २०८२ चैत मसान्तसम्म लागू हुनेछ । सम्झौता कुनै एक पक्षले रद्द गर्न चाहेमा अर्को पक्षलाई लिखित पत्र पठाएको ३० दिनपश्चात् स्वत: रद्द हुन प्रावधान राखिएको छ ।