काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले ८० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ ।
कम्पनीले बुधवार (आज) नेप्सेमार्फत सूचना जारी गर्दै उक्त हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको हो । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विक्री प्रबन्धक नियुक्त गरिएको भनाई कम्पनीको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गत कात्तिक ११ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको थियो । गत आर्थिक वर्ष ०८०/८१ को १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा कम्पनीले ८० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ८० को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।
कम्पनीको ५१ प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गरिएको सहायक कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४ दशमलव ९ मेगावाट क्षमताको अपर पिखुवाखोला जलविद्युत आयोजना र ४ दशमलव १ मेगावाट क्षमताको पिखुवा पशुपति जलविद्युत आयोजनाको लागि आवश्यक पूँजीको व्यवस्थापन गर्न कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको प्रष्ट पारेको छ ।