काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आठ विशिष्टीकृत लगानी कोष (भेन्चर क्यापिटल) हरूले ३० अर्ब ५० करोड रुपैयाँ लगानी जुटाउने भएका छन् । बोर्डले दिएको जानकारीअनुसार अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ५ अर्ब, अल्फा प्लस भिजन फन्डले २ अर्ब, प्रभु डायनामिक प्राइभेट इक्विटी फन्ड–१ ले ५० करोड, नेपाल अपरच्युनिटी फन्ड–१ ले ३ अर्ब, लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले १ अर्ब, एनआईबीएल इक्विटी पार्टनर्सले १० अर्ब, रिलायबल प्राइभेट इक्विटी फन्डले २ अर्ब र नेशनल इक्विटी फन्ड–१ ले ७ अर्ब रुपैयाँ कोष संकलन गरी लगानी गर्नेछन् ।
बोर्डको सुपरिवेक्षण विभाग प्रमुख विनयदेव आचार्यले आठमध्ये तीन योजनाले रकम संकलन गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ४ अर्ब ५६ करोड रुपैयाँ, नेशनल इक्विटी फन्ड–१ ले १ अर्ब ६ करोड रुपैयाँ र नेपाल अपरच्युनिटी फन्ड–१ ले ९९ करोड रुपैयाँ संकलन गरेको छ ।
नेशनल इक्विटी फन्ड–१ मा सानिमा बैंकको १० प्रतिशत लगानी छ । यस योजनाले पूर्वाधार, सर्वसाधारणलाई जारी गर्नुअगाडिको शेयर, पर्यटन, स्वास्थ्य तथा शिक्षा, प्रविधि सक्षम क्षेत्र, साना तथा मझौला व्यवसायमा लगानी गर्ने बोर्डले जानकारी दिएको छ । ४ अर्ब ५६ करोड रुपैयाँ संकलन गरिसकेको अवसर इक्विटी डाइभर्सिफाइड फन्डमा भने सिद्धार्थ, सानिमा, कुमारी र नेपाल बैंकको समान अनुपातमा अर्थात् २ दशमलव ५ प्रतिशत लगानी रहेको बोर्डको भनाइ छ ।
अवसर इक्विटी डाइभर्सिफाइड फन्डले उत्पादन तथा प्रशोधन, वित्तीय सेवा, ई–कमर्स तथा सूचना प्रविधि, ऊर्जा, घरजग्गा, लजिस्टिक पर्यटन, स्वास्थ्य तथा वेलनेस र शिक्षाक्षेत्रमा लगानी गर्नेछ । यस फन्डका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले संकलित रकम विभिन्न पाँच कम्पनीमा लगानी गरेको बताए । यस फन्डको आकार ५ अर्ब रुपैयाँसम्मको भए पनि ४ अर्ब ५६ करोड रकम संकलन गरी लगानी गर्न शुरू गरिएको प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनाले बताए । १० वर्षे अवधिको यस फन्ड सञ्चालनबाट नेपालमा वैकल्पिक लगानीको अवसर सृजना भएको उनी बताउँछन् ।
त्यस्तै ९९ करोड रुपैयाँ संकलन गरिसकेको नेपाल अपरच्युनिटी फन्ड–१ मा भने लक्ष्मी बैंकको ५ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट नेपालको २ दशमलव ६७ प्रतिशत, महालक्ष्मी विकास बैंकको १ दशमलव ६७ प्रतिशत र ज्योति विकास बैंकको १ प्रतिशत लगानी रहेको बोर्डले बताएको छ । नेपाल अपरच्युनिटी फन्ड–१ ले ऊर्जा, कृषि, पर्यटन, होटल तथा रिसोर्ट र रेस्टुरेन्ट, सूचना तथा सञ्चार, निर्माण तथा भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य, शहरी तथा ग्रामीण विकास पूर्वाधार, डिजिटल प्रविधि तथा पूर्वाधार, लजिस्टिक, उत्पादन तथा अन्य व्यापारका क्षेत्र, औषधि तथा औषधिजन्य व्यवसाय, बैंक, बीमा, लगानी तथा अन्य वित्तीय क्षेत्र र लगानी समितिले पहिचान गरेको अन्य क्षेत्रमा लगानी गर्ने बताएको छ ।
यी योजनाहरूले कोषको रकम लगानी गर्ने सीमा विधान तथा सम्झौतापत्रमा उल्लेख भएबमोजिम हुने व्यवस्था विशिष्टीकृत लगानीकोष नियमावली, २०७५ मा छ । सोही व्यवस्थाबमोजिम यी योजनाहरूले लगानीको क्षेत्र तय गरेका हुन् ।
बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार रिलायबल प्राइभेट इक्विटी फन्ड, एनआईबीएल इक्विटी पार्टनर्स, लक्ष्मी सस्टेनेबल इनर्जी फन्ड, प्रभु डायनामिक प्राइभेट इक्विटी फन्ड–१, अल्फा प्लस भिजन फन्ड र लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले रकम संकलन गरेका छैनन् । रिलायबल प्राइभेट इक्विटी फन्डमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडको ४ प्रतिशत मल्टिपर्पस फाइनान्सको ३ दशमलव ५ प्रतिशत र कुमारी बैंकको २ दशमलव ५ प्रतिशत कोषको आकारमा लगानी रहनेछ । त्यस्तै एनआईबीएल इक्विटी पार्टनर्समा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १० प्रतिशत, लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमा लक्ष्मी सन्राइज बैंकको १० प्रतिशत, प्रभु डायनामिक प्राइभेट इक्विटी फन्ड–१ मा प्रभु बंैकको १० प्रतिशत, अल्फा प्लस भिजन फन्डमा पनि प्रभु बैंकको १० प्रतिशत कोषको आकारमा लगानी रहने बताइएको छ ।