काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४० करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ५० प्रतिशत कम खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८१ करोड १९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
वितरणयोग्य नाफा भने यस अवधिसम्म २६ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष ९ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष भने ३७ करोड ३४ लाख रुपैयाँभन्दा बढी भएको हो । कम्पनीको सञ्चालन नाफासमेत अघिल्लो वर्षको भन्दा ५० प्रतिशत कम ५७ करोड ८९ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ८८ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी छ ।
कम्पनीले गत चौथो त्रैमाससम्म १० अर्ब ३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । उक्त अवधिसम्म कम्पनीले २२ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३९ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ३४ रूपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ ७ पैसा छ ।