काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ दशमलव ६ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो ।
यस वर्ष लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २३ गते १२औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरिसकेको छ । उक्त साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने कम्पनीको जनाएको छ । बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावर लिमिटेडको शेयरमा अधिकतम १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने, लगानीका लागि प्रवर्द्धन कम्पनी र सम्बन्धित पक्षहरूबीच सम्झौता गर्ने विषयमा पनि छलफल हुनेछ ।