काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३७ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ। बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो।
कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन ३० गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ। आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यहि आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ ।
हाल आयोजनको ७४ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ । २०८० साल भदौ २६ गतेदेखि यस आयोजना निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।