काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आगामी बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुनेछ ।
कम्पनीको आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्, जसमा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।
कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो, जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ ।