काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि हिमालयन ८०–२० को इकाई जारी गर्ने भएको छ । योजना व्यवस्थापकको रूपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।
योजना सञ्चालनका लागि विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यी इकाई खरीदका लागि न्यूनतम १०० अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस इकाई विक्री अवधि छिटोमा भदौ ४ गतेसम्म विक्रीमा रहनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १५ गतेसम्म विक्री लम्बिनेछ ।
विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ ।
न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ ।
योजना व्यवस्थापकसँगै हिमालयन क्यापिटलले योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गर्नेछ ।
१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।