काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँको आधारमा कुल ११ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
गत मंगलवार अपराह्न बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।