विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि झापा जिल्लाका उद्योगी, उद्योग वाणिज्य संघ र वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासले उद्योग प्रतिष्ठानमा कामदारसम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताए । श्रम बजारसम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको उनले बताए ।
नेपाल भेनियर उत्त्पादक संघका अध्यक्ष एवं मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले करीब चार हजार कामदार कार्यरत भेनियर उद्योगमा ९० प्रतिशत भारतीय रहेको जानकारी दिए । बाँकी १० प्रतिशत नेपाली कामदार पनि वैदेशिक रोजगारीको पर्खाइमा रहेको उनको भनाइ छ । झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले चिया, चामल उद्योगहरूमा दक्ष प्राविधिकको अभाव रहको बताए ।
कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको शीपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थिति नसुध्रिएसम्म उद्योग, प्रतिष्ठानले प्रगति गर्न नसक्ने बताए । उनले लगानीमैत्री वातावरण निर्माण गर्ने खालको नीतिको आवश्यकता पनि औंल्याए ।
हल्दिबारी इँटा उद्योग सञ्चालक ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतीय रहेको भन्दै नेपाली कामदारको उत्पादकत्व तुलनात्मक रूपमा कम रहेको बताइन् । हियान फुड इन्डस्ट्रिजका सञ्चालक शर्मिला अधिकारीले दक्ष जनशक्तिका लागि भारतीय कामदारमा भर पर्नु परेको बताइन् ।