काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले भोलि शुक्रवार अर्थात् फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू. ३ अर्ब ३३ करोड २५ लाखको १५ प्रतिशत अर्थात् रू. ८९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
कुल कित्तामध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउँदै छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । फागुन ३० गतेसम्म विक्रीमा रहने आईपीओको लागि सो मितिसम्म मागबमोजिम आवेदन नपरेमा गतेसम्म विक्री अवधि चैत १० गतेसम्म लम्बिने जानकारी दिइएको छ ।
सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । हाल आयोजनाको ७४ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ । २०८० साल भदौ २६ गतेदेखि आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।