काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा बन्दै गरेको सिद्धबाबा शुरूङमार्ग छेडेर सकिएको सडक विभागले जानकारी दिएको छ । काठमाडौंको नागढुंगा र काठमाडौं निजगढ द्रुतमार्गअन्तर्गत दुईओटा शुरूङमार्ग छेडिएपछि सिद्धबाबा शुरूङमार्ग पनि छेडेर सकिएको हो ।
सिद्धबाबा शुरूङमार्ग आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले ठेकेदारले काम शुरू गरेको करीब ८ महीनामै शुरूङ छेड्ने काम सकेको बताए । ‘यो शुरूङमार्ग निर्माणका क्रममा कुनै अवरोध नआएकाले आशा गरिएकै समयभित्र सकिएको हो । माघ ११ गते शुरूङमार्गको औपचारिक ‘ब्रेक थ्रु’ गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।
यो शुरूङमार्ग बनाउन सन् २०२२ मार्चमा सम्झौता भएको थियो । शुरूङ खन्ने काम भने २०८१ जेठ १३ गते शुरू भएको हो । यो शुरूङमार्ग नारायणगढ–बुटवल सडक र काठमाडौं–तराई दु्रतमार्ग बनाइरहेको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पाेरेशन लिमिटेडले बनाइरहेको छ । नारायणगढ–बुटवल सडकमा राम्रो काम नगरेको भन्दै यो कम्पनीको आलोचना भइरहेको छ ।
सिद्धबाबा शुरूङमार्गमा मुख्य शुरूङको लम्बाइ १ हजार १२६ मीटर छ । मुख्य शुरूङमार्गसँग जोडिएका सहायक (आपत्कालीन समयमा प्रयोग गरिने अर्थात् क्रस प्यासेज) शुरूङमार्ग खन्ने काम पनि सकिइसकेको छ । सहायक शुरूङमार्गको लम्बाइसमेत जोड्दा यो शुरूङको कुल लम्बाइ १ हजार ५३० मीटर हुन्छ । शुरूङमा अहिले कंक्रिटको काम भइरहेको अधिकारीले जानकारी दिए । ‘यो शुरूङमार्गमा गाडी सञ्चालन पनि अबको १ वर्षभित्रमा हुनेछ,’ अधिकारीले भने, ‘सुक्खा पहिरो तथा वर्षायाममा पहिरोका कारणबाट हुँदै आएको क्षति न्यूनीकरण गर्ने भनिएको छ ।
यो शुरूङमार्ग छोटो भएको गुनासो पनि छ । तर, शुरूङमार्ग निकै महँगो संरचना हो ।’ उच्च जोखिम रहेको क्षेत्रलाई पहिचान गरेर शुरूङमार्ग बनाइएको भन्दै उनले अब क्षति धेरै कम हुने बताए ।
यो शुरूङमार्गको ठेक्का सम्झौता रकम ७ अर्ब ३४ करोड रुपैयाँ हो । ब्रेक थ्रु भएपछि शुरूङभित्रको सडक ढलान हुनेछ । सोही शुरूङमार्ग खण्डको चिडियाखोलादेखि दोभानसम्मको बाटो पनि स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ ।
मुलुकमा अहिले सडक शुरूङमार्ग बनेसँगै के कसरी सञ्चालन गर्ने भन्ने विषय पनि उठेको छ । सिद्धबाबा शुरूङमार्ग भने ५ वर्षसम्म चिनियाँ निर्माण व्यवसायीले नै सञ्चालन र मर्मतसम्भार गर्नेछ । यो शुरूङमार्ग इन्जिनीयरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी) मोडलमा बनेको हुँदा ५ वर्षसम्म सोही कम्पनीले मर्मतसम्भार र सञ्चालन गर्ने अधिकारीको भनाइ छ ।
नागढुंगा शुरूङमार्ग आयोजनाको पनि शुरूङ छेड्ने काम गत वैशाखमै सम्पन्न भइसकेको छ । अब शुरूङभित्र सडक ढलानको काम, शुल्क (टोल) बुथ बनाउने, फ्लाइओभरको र्याप रोड –फ्लाइओभरमा चढ्ने सडक) बनाउने काम बाँकी रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर सञ्जय पन्थीले जानकारी दिए ।
सन् २०२५ को अक्टोबरसम्ममा परियोजनाको काम सम्पन्न गर्नुपर्ने म्याद छ । यही अवधिभित्रै सञ्चालन गर्ने योजना रहेको उनले बताए । ‘सिद्धबाबाभन्दा नागढुंगाको सञ्चालन विधि फरक हुनेछ,’ पन्थीले भने, ‘नागढुंगा शुरूङ सञ्चालनका लागि छुट्टै सर्भिस प्रोभाइडर खोज्नेदेखि नियमकानून बनाउनुपर्ने हुन्छ, अहिले यी प्रक्रियामा पनि काम भइरहेको छ ।’
निर्माणाधीन नागढुंगा शुरूङमार्ग उद्धार शुरूङमार्ग (रेस्क्यु टनेल)को २०८० साउनमा छिचोल्ने काम सम्पन्न भएको थियो । मुख्य शुरूङमार्ग छिचोल्ने काम २०८१ वैशाख ४ गते सम्पन्न भएको थियो । यो शुरूङमार्ग जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेशनले बनाइरहेको छ । ४२ महीनामा सम्पन्न गर्ने गरी यो आयोजना २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो ।
नागढुंगा–नौबीसे सडकखण्डमा हुँदै आएको सवारी चापको व्यवस्थापनका साथै दूरी छोट्याउन नागढुंगा शुरूङमार्ग बनाइएको हो । सिद्धबाबा शुरूङमार्ग पहिरोबाट हुँदै आएको जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बन्दै गरेको हो । दुवै परियोजना १ वर्षभित्रमा सञ्चालनमा आउने गरी निर्माण भइरहेका छन् ।