भदौ ११, सिन्धुली । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट उत्पादित अग्र्यानिक तरकारी विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
स्थानीय अग्र्यानिक तरकारी उत्पादक कृषकहरूको मागपछि जिल्लामा पहिलोपटक यस्तो केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका वरिष्ठ कृषि विकास अधिकृत डोरबहादुर रायमाझीले जानकारी दिए । ‘यस्तो केन्द्रले किसानहरूको बजार पहुँच बढाउनुका साथै उत्पादनको उचित मूल्य निर्धारणमा समेत मद्दत पुर्याउँछ,’ उनले भने । व्यवस्थापनको सम्पूर्ण जिम्मा कृषि विकास कार्यालयले लिएको सो केन्द्रबाट आईपीएम प्रविधिद्वारा उत्पादित कृषि उपज मात्र विक्रीवितरण गरिने बताइएको छ । जिल्लाको कमलामाई नगरपालिकाका करीब ६ सय कृषकले आईपीएम प्रविधिबाट मौसमी तथा बेमौसमी तरकारी र फलफूल खेती गर्दै आएको कार्यालयको तथ्याङ्क छ ।
अहिले जिल्लामा मासिक १० टन आईपीएम तरकारी उत्पादन हुने गरेको छ । यसले जिल्लाको २० प्रतिशत माग धान्ने रायमाझीको भनाइ छ । कृषि विकास कार्यालयको पहलमा रतनचुरा, कपिलाकोट, नेत्रकाली, तामाजोर, भद्रकाली, जलकन्या, भीमेश्वर, रानीचुरी गाविस तथा कमलामाई नगरपालिमा गतवर्षदेखि आईपीएम प्रविधिको विकास गरिएको छ । थप आईपीएम कृषि उत्पादनका लागि केही समयभित्र आईपीएम पाठशाला स्थापना गर्ने कार्यालयको योजना छ । यस्ता पाठशालाले कृषकहरूलाई बाली–बीउ छनोटका साथै जैविक विषादी प्रयोग गर्नमा कृषकहरूलाई सहयोग पुर्याउने गर्दछन् ।
समयमा रासायनिक मल नपाउने समस्याले पीडित किसानका लागि यस्तो प्रविधि सहज भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए । ‘आईपीएम प्रविधिको तरकारी उत्पादन गर्ने कृषकहरूलाई हामीले पनि सहयोग गर्ने योजना बनाएका छौं,’ उनले भने ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.